२६ वर्षीया इन्जिनियर बराल प्रदेश सभाकी उम्मेदवार बन्दै

Read Time = 4 mins

-युवराज पौडेल

पोखरा । आगामी मंसिर ४ मा हुने प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ देशकै कान्छी महिला इन्जिनियरका रुपमा २६ वर्षीया विद्या बरालले कास्की क्षेत्र नं ३ ‘ख’ बाट उम्मेदवारी दिने हुनु भएको छ ।

इन्जिनियर बरालले नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवरी दिनुभएको हो । उहाँ काङ्ग्रेसको चौंधौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो ।

बरालले नेपाल विद्यार्थी सङ्घबाट राजनीति प्रारम्भ गर्नुभएको थियो । क्याम्पस पढ्दादेखि नै उहाँ नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष हुँदै प्राविधिक सहसंयोजकसम्म हुनुभएकी देशमै सबैभन्दा कान्छो प्रतिनिधि बनेर इतिहास रच्ने प्रयासमा लाग्नुभएको छ ।
काङ्ग्रेसले महिलालाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले महिला राजनीतिमा नआउने हो भने राजनीति कहिल्यै नसुध्रिने भएकाले आफू राजनीतिमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्व तहमा महिलाको पहुँच एकदमै कम छ । मैले प्रत्यक्षमा उम्मेदवारी दिनु आफैमा ठूलो कुरा हो ।’ उहाँले पार्टीले महिलालाई समानुपातिकमै टार्न खोज्ने र पुरुषले समानुपातिकमा पनि दाबी गरिदिँदा महिला संरक्षित नभएको उहाँको भनाइ छ ।

बरालको पारिवारिक पृष्ठभूमि राजनीतिक नभए पनि राजनीतिमा उहाँलाई परिवारको साथ रहेको उहाँको भनाइ छ । संविधानमा महिलाका कुरा लेखिए पनि व्यवहारमा पितृसत्ताका प्रभाव र दमनहरु यथावत् रहँदा महिलाको स्थिति अझै राम्रो भइनसकेको उहाँले बताउनुभयो ।
उहाँले महिलाका अधिकारका सन्दर्भमा विद्यार्थीकालबाटै काम गरिरहेको र भविष्यमा राजनीतिमा महिलाका जायज मुद्दालाई स्थापित गराउन सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचित भएपछि महिला सशक्तिकरणका लागि काम गर्ने उहाँको योजना छ ।

आफू पढेलेखेको एक सक्षम युवा महिलाका नाताले पनि यस पालि आफ्नो पार्टीले उपयुक्त मूल्याङ्कन गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ । आफ्नो विगतदेखिको राजनैतिक सङ्घर्ष तथा पेसा र दक्षतालाई पनि पार्टीले विचार गर्ने उहाँको भनाइ छ । इन्जिनियर पेसामा आवद्ध भएको हुदाँ पढेको जानेको कुरा समाज परिवर्तन र विकास योजनाका कार्यमा लागु गर्ने उहाँको योजना छ ।

बरालले भौतिक मन्त्रालयमा सिभिल इन्जिनियरका रुपमा काम गर्नुभएको छ । उहाँ नेपाल इन्जिनियर एसोसियसनका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । उहाँ काङ्ग्रेसको तर्फबाट क्षेत्र जिल्ला र गण्डकी प्रदेशबाट उम्मेदवार सिफारिस भइसक्नुभएको छ भने केन्द्रबाट अन्तिम सिफारिसको प्रतिक्षामा हुनुहुन्छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?