मूर्धन्य नक्षत्र बीपीमा श्रद्धासुमन !

बद्रीप्रसाद दाहाल
Read Time = 14 mins

राजनीति र साहित्य सिर्जनाका दुवै क्षेत्रमा चर्चित गुणग्राही युगनायक हुन् बीपी । प्रखर विचारक, दूरदृष्टि भएका राजनेता, आख्यानकार, कवि, विश्लेषक, समालोचक एवं समीक्षक कानुनका ज्ञाता जो चारदशकसम्म नेपालको लोकतान्त्रिक आन्दोलन र भारतीय स्वतन्त्रता संग्राममा समेत सक्रिय नायकत्व प्रदान गर्ने एक असल क्रान्तिकारी पुरुष बन्न सफल भए । राजनीति र साहित्य दुवै क्षेत्रमा विचरण गर्ने अनुपम शक्ति थियो बीपीसित । साहित्यमा नयाँ मान्यता स्थापना गर्न सफल कोइराला विशेष गरेर नेपाली कथा र उपन्यास विधाका सशक्त मनोवैज्ञानिक हस्ताक्षर तथा कुशल शिल्पी पनि थिए ।

‘साहित्यमा सम्राट् पनि नांगो हुन्छ’ भन्ने मान्यता राख्ने बीपी आख्यान विधामा मनोविज्ञानलाई सघन रूपले आफ्नै शैली र भाषाबाट कथावस्तुलाई धारिलो ढंगमा प्रस्तुत गर्न खप्पिस छन् । उनको जीवन्त अनुभूति यसरी बोल्छ, ‘आफ्ना अनुभव र अनुभूतिहरूलाई शब्दमा सजाएर अभिव्यक्त गर्दा गर्दै साहित्य भएछ’ । साहित्यको ध्येय के हुनुपर्छ त भन्ने क्रममा बीपीले केही आफ्ना तर्कहरू बहसको सन्दर्भमा राखिदिनु भएको छ ।

साहित्यका विविध विधामा सर्जकहरूलाई परिष्कार तथा मार्गदर्शन गराउने खुबी समालोचकमा हुन्छ भन्ने दृढता थियो उनमा । त्यसैले बीपी समालोचकलाई रजहाँस भनेर पुकार्दछन् । जसले रजहाँसले झैँ दूधको दूध र पानीको पानी छुट्याओस्, सर्जकका गल्ती तथा कमजोरी स्पष्ट देखाउन सकोस् ।

१, सुन्दरताको सिर्जना गर्ने- सिर्जनामा सुन्दरता र रमणीयता भर्न हाम्रा पूर्वीय मनीषिहरूले प्रदान गरेको सूत्र यस्तो थियो ‘क्षणेक्षणे सुन्दरतामुपैति तदेव रूपं रमणीयतायाः’ । अर्थात् छिन–छिनमा अभिनव मुहारमा सिर्जना स्थापित गर्ने क्षमता नै रमणीयता र सुन्दरता हो । यही मान्यतालाई सिर्जना संसारमा आत्मसात गर्दा नै कोइराला पूर्ववर्ती र समवर्ती स्रष्टाभन्दा बेग्लै पहिचानमा उभिन पुगे ।

२, मानव अनुभूतिमा नयाँ आयामलाई उनले साहित्यको लक्ष्य तथा उद्देश्य हुनुपर्ने मान्यता राखेका छन् । वास्तवमा साहित्य समाजको दर्पण अर्थात् ऐना हो भन्ने सार्वभौम यथार्थलाई यो भनाइले अवलम्बन गरेको छ ।

३, सत्यलाई सुन्दर बनाउन सक्नु वाङ्मयको विशेषता हो ।

४, भावनालाई परिष्कार गर्दै मानव स्वतन्त्रताको सम्भावनालाई विस्तृतीकरण गर्ने खुवी साहित्यको अर्को उदात्त सिद्धान्त बनाउनुमा हुन्छ । यिनै मान्यतालाई केन्द्रमा राखेर अभिनव सिर्जनाका प्राकृत स्वरहरू गुञ्जनुपर्छ भन्ने मान्यता हो बीपीको ।

राजनीति र साहित्यको विभेदलाई उनले यसरी रेखाङ्कित गरिदिएका छन्-राजनीति नियमूलक हुन्छ, यो रुढीवादतिर झुकाव राख्छ, यथास्थितिप्रति जोड लिने खालको रहन्छ । किनकि राजनीतिको मूल ध्येय सुरक्षा हो । त्यसै भएर राजनीति व्यक्तिभन्दा समाजपट्टि, नूतनभन्दा सनातनतिर, अन्तप्र्रेरणाभन्दा व्यवस्थालाई अंगीकार गर्दै भावनाको ठाउँमा तर्क, नैतिकतालाई भन्दा ऐनकानुन र मनको इच्छाभन्दा व्यवहारमा जोड दिन्छ । तर, साहित्य सनातनभन्दा नूतन विचारको प्रवाहमा हुन्छ, व्यवस्थाभन्दा अन्तप्र्रेरणामा जोड दिन्छ, तर्कको ठाउँमा भावना, कानुन ऐनभन्दा नैतिकता, भद्दा व्यवहारभन्दा मनसायमा डुबुल्किन्छ । यसैले त साहित्यको सीमा आकाश हो । कला बन्धन चाहँदैन स्वतन्त्रता चाहन्छ भनी उनले साहित्यलाई विशाल परिधिमा चियाएका छन् र राजनीतिको परिधि संकीर्ण हुने ठोकुवामा पुगेका छन् ।

साहित्यका विविध विधामा सर्जकहरूलाई परिष्कार तथा मार्गदर्शन गराउने खुबी समालोचकमा हुन्छ भन्ने दृढता थियो उनमा । त्यसैले बीपी समालोचकलाई रजहाँस भनेर पुकार्दछन् । जसले रजहाँसले झैँ दूधको दूध र पानीको पानी छुट्याओस् सर्जकका गल्ती तथा कमजोरी स्पष्ट देखाउन सकोस् । स्तवन, मुलाहिजा, प्रशंसा, निन्दा तथा कुण्ठा मात्र नपस्कोस् भन्ने मान्यता राख्थे । निर्भीकतापूर्वक बीपी भन्छन् : ‘हामी नेपाली लेखकहरू आलोचना, टीकाटिप्पणीहरू सुन्न सहन र पचाउन सक्ने क्षमताका भइसकेका छैनौँ । लेखकहरू लेख्न त लेख्छन् तर लेखनमा लेखकको अनुभवभन्दा बाहिरी प्रभाव ज्यादा रहेको पाइन्छ ।

हाम्रा लेखकहरूमा अध्ययन, चिन्तन र गम्भीर अनुभवको कमी छ । साहित्यकार अर्थात् समग्र कलमकर्मीहरूलाई सचेत तथा सजग हुन उत्प्रेरणा दिँदै उनी बोल्छन् : साहित्यकार, कलाकार, बौद्धिक, प्राज्ञिक र सचेत वर्गले पनि राजनीतिलाई अन्धाधुन्ध समर्थन गर्न लागे भने देशमा तानाशाही प्रवृत्तिले हुर्कने मौका पाउँछ । अझ एक कदम अघि बढेर उनको मान्यता यसरी प्रस्तुत भएको छ : ‘कम्युनिष्टहरू राजनीतिविनाको साहित्य साहित्य नै होइन भन्ने मान्यता राख्छन् तर म यो कुराको समर्थन गर्दिन । सहित्यकार भनेको समाजको तेस्रो आँखा हो, यो न्याय, विवेक, मूल्यमान्यता र निष्ठाको आँखालाई पर्दा लगाउन राजनीति सदैव तयार नै रहन्छ’ । कति सटिक र तथ्यको सम्पुट छ यो भनाइ ।

बीपीलाई सिर्जना संसारमा उत्प्रेरणा भर्ने पात्रहरूमा हिन्दी आख्यान साहित्यका ताराहरू प्रेमचन्द, शरद्चन्द चट्टोपाध्याय, शान्तिप्रिय द्विवेदी थिए भने नेपालीमा सूर्यविक्रम ज्ञवाली, पिता कृष्णप्रसाद कोइराला र नेपाली समाजको सामाजिक विभेदीकरण नै लेखनप्रति आकर्षण गर्ने शक्ति बन्न पुगे । बीपी निःसंकोच भन्छन् : म सदा समीक्षक वा समालोचकको त्रासमा रहन्छु । हुन त समालोचकको छडीले कतै कुत्कुत्याउँछ, चिलाएको ठाउँमा कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुङ मार्छ, घाउ भए चिरिदिन्छ र रालसिँगान भए पुछिदिन्छ’ । हो, समालोचकलाई उनले स्रष्टाका कृतिलाई चिरफार गरिदिने, रचनामा भएको कमजोरी पक्ष फोहोरहरूको धुलाइमार्फत निर्मलीकरण र आवश्यक परेमा आलोचनाको छडीले पनि सोठ्याउँने तागत राख्छ भनेर घतिलो पारामा यथार्थको संवरण गर्न तयार भएका छन् ।

नेपाली आख्यानमा मनोविज्ञानको प्रवेश :
‘मेरो साहित्यमा हात हाल्नुको उद्देश्य व्यक्तिलाई निहार्नु र वैयक्तिक धारणा वा विचारलाई साहित्यका माध्यमबाट व्यक्त गर्नु थियो’ । हो, बीपीले व्यक्ति व्यक्तिका अन्तरमनका कुण्ठा, उहापोह, इच्छा, लक्ष्य उद्देश्यहरूलाई उनीहरूको मनोसागरमा डुबेर वा मनका पत्रपत्र केलाएर तथ्य धरातलमा टेकी शल्यक्रिया गरिदिएका छन्क कथावस्तु बुनेर । उनका मनपर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय स्रष्टाहरूमा देवकोटा, सम, चेखब, मोपासा, गोर्की, टाल्सटाय, बर्नाड शा आदि थिए भने सिग्मण्ड फ्राइडलाई बाहिरिया क्रान्तिभन्दा भित्री क्रान्ति हो, यसैले मैले उनलाई रोजेँ भनेर खुलस्त गरिदिएका छन् ।

उनले आफूलाई चिनाउँदै बोले, ‘म राजनीतिमा समाजवादी हूँ भने साहित्यमा अराजकतावादी । म अनुभवको लोकभन्दा कल्पनाको लोक मन पराउँछु, म भावुक, रोमान्टिक, चिन्तनशील छु र विद्रोही पनि । त्यसैले म कहिले गान्धीवादी, कहिले क्रान्तिवादी, कहिले माक्र्सवादी अनि पछि पुनः गान्धिीवादी हुन पुगेको हूँ । मलाई लाग्छ आत्मा अडिन स्वतन्त्रता चाहिन्छ, म जतिसुकै द्वन्द्व र अन्तद्र्वन्द्वमा परे पनि भावना, अनुभूति र संवेदनालाई जोड दिन चाहन्छु’ । यसैबाट बुझ्न सकिन्छ बीपी साहित्यलाई स्वच्छन्द र वैयक्तिक तत्व भनेर मान्दथे ।

बीपीले शरीर शुद्धीकरणभन्दा मनको निर्मलीकरणलाई उपन्यासको कथावस्तुमार्फत सन्देश दिएका छन् । यौन मनोविज्ञानलाई समाहित गराएर तमाम कुण्ठाग्रस्त मनोरोगीको खुलस्त ढंगले शल्यक्रिया उनको आख्यानको विशेषता हो । नारी स्वतन्त्रतालाई जोड दिने क्रममा नेपाली मूल्य मान्यताभन्दा विपरीत अस्वाभाविक घटना अपाच्य जस्तो महसुस पनि हुन्छ । बाबुआमा र छोरा यसको ज्वलन्त उदाहरण हो ।

सूत्रात्मक, बिम्बात्मक, व्यंग्यात्मक, यौनात्मक, यथार्थवादमा नवीन शिल्पमा उनिएका उनका दोषी चस्मा, श्वेतभैरवी जस्ता कथासंग्रह आधुनिक नेपाली कथासाहित्यको कोसेढुंगा नै बनेका छन् । जेलजर्नल, अदालतको बयान र उनका विचारोत्तेजक लेखहरूले उनको सिर्जनाको धरातललाई अग्लाइमा पुर्‍याएको छ ।

तीनघुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन, हिटलर र यहुदी, बाबुआमा र छोरा, यी छ उपन्यासमा बीपी पूरै यौन स्वतन्त्रता, नारी उन्मुक्ति र ती पात्रहरूको संघर्ष, अस्तित्ववादी धारा, नैतिकताको प्रक्षेपण, सम्झौता वा मेलमिलापवादको अनुशरण, अवचेतन अर्धचेतन र चेतन मनको स्पष्ट रूपमा उपस्थिति गराउनु उनका उपन्यासका विशेषता हुन् ।

सूत्रात्मक, बिम्बात्मक, व्यंग्यात्मक, यौनात्मक, यथार्थवादमा नवीन शिल्पमा उनिएका उनका दोषी चस्मा, श्वेतभैरवी जस्ता कथासंग्रह आधुनिक नेपाली कथासाहित्यको कोसेढुंगा नै बनेको छ । जेलजर्नल, अदालतको बयान र उनका विचारोत्तेजक लेखहरूले उनको सिर्जनाको धरातललाई अग्लाइमा पु¥याएको छ । वरिष्ठ स्रष्टा कृष्ण धरावासीको शब्द सापटी लिएर भन्दा, ‘विश्व साहित्यमा यौन विश्लेषणले पाएको उच्च मूल्यलाई बीपीले नेपाली साहित्यमा भित्र्याउनु सानो कुरा होइन’ । ‘ठूलो मान्छे हुनुभन्दा असल मान्छे बन’ भन्ने मार्मिक भाव उनका साहित्यभित्रका गुदी तत्व हन् । एकसय नवौँ जन्मजयन्तीमा सानो लेखमार्फत श्रद्धाञ्जलि ! सिर्जना संसारका मूर्धन्य नक्षत्र बीपीमा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?