झापा ५ : गठबन्धन भन्दा बलिया ओली

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । सम्भवत आगामी प्रतिनिधि सभा निर्वाचनमा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह जिल्ला झापाको क्षेत्र नम्बर ५ बाट लड्दै हुनुहुन्छ । एमालेले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारेको छ ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले अध्यक्ष ओली यो क्षेत्रबाट अत्याधिक मतका साथ विजयी भएका कारण अहिले पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निर्विकल्प हुनु हो ।

माओवादी र एमाले गठबन्धन गरेर चुनावमा गएको त्यो बेला एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेको थियो । क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङदेनलाई समर्थन गरेको एमालेले  झापाका अन्य ४ क्षेत्रमा राप्रपाको समर्थन बटुलेको थियो । अझ झापा ५ मा भने ओलीलाई औपचारिक रुपमानै राप्रपाले समर्थन गरेको थियो ।

त्यो बेला चुनावमा दुई ठूला कम्युनिष्ट घटकहरु एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धनकै कारण बहुमत पनि प्राप्त गरेका थिए । चुनाव पछि पार्टी एकता समेत भएको थियो ।

यसैबीच २०७४ को निर्वाचन र अहिलेको परिस्थितिमा केही बदलाव आएको छ । तर पनि यहाँ एमाले त्यति कमजोर भने देखिएको छैन ।

एमाले अध्यक्ष ओलीले यस्तो हाँक दिइरहेका बेला स्वयम् ओली नै आफ्नो क्षेत्रमा कति सुरक्षित हुनुहुन्छ त ?

यस्तो थियो २०७४ को निर्वाचन परिणाम

२०७४ मा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रका अतिरिक्त झापा ५ मा ओलीलाई राप्रपाको पनि समर्थन थियो । त्यतिबेला ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी बन्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी पराजित बन्नुभएको थियो । अधिकारीले २८ हजार २९७ मत ल्याउनु भएको थियो । उहाँहरुसँगै प्रतिनिधिसभाको चुनावमा लडेका अन्य उम्मेदवारहरुको कूल मत ५ हजार ९०९ मात्रै थियो ।

निर्वाचन अघि चुनावी गठबन्धन गरेका दुई कम्युनिष्ट घटकले पछि पार्टी नै एकीकरण गरेर नेकपा बनाएका थिए । भारी मतान्तरले त्यो निर्वाचन क्षेत्रबाट बिजयी बन्नुभएको ओली माओवादीको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री समेत बन्न सफल हुनु भएको थियो । पार्टी एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका नेकपाले एकल बहुमतको सरकार बनाएको थियो ।

यस्तो थियो गत स्थानीय निर्वाचनको वडागत अवस्था

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा पर्ने वडाहरुमा पार्टीका वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत गणना गर्दा एमालेका उम्मेदवारले पाएको मत सर्वाधिक छ। जसले अब पनि ओलीको जित सुनिश्चित रहेको आँकलन गर्न सकिन्छ।

एमाले अध्यक्ष ओलीले लड्दै आएको झापाको क्षेत्र नम्बर ५ मा गौरीगंज गाउँपालिकाका वडा नम्बरहरु ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नम्बरहरु १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिकाका सबै वडाहरु र कमल गाउँपालिकाका सबै वडा पर्दछन्। यी सबै गरी झापा– ५ मा २९ वटा वडा छन्।

२९ मध्ये एमालेले १८ वटा वडाध्यक्ष जितेको छ। त्यस्तै, कांग्रेसले ६ वटा, माओवादी केन्द्रले २ वटा, एकीकृत समाजवादीले एउटा, राप्रपाले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाध्यक्ष जितेका छन्। स्थानीय तहको निर्वाचनमा एमालेले २९ वटै वडामा अध्यक्षमा उम्मेदवार उठाएको थियो। ती उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ४१ हजार ६१९ थियो ।

कांग्रेसले १८ वटा वडाबाट २२ हजार ९३२ मत पाएको छ । अर्को दल माओवादी केन्द्रले वडाध्यक्षमा उम्मेदवारी दिएका ११ वटा वडाबाट ९ हजार ८७८ मत पाएको छ ।

एकीकृत समाजवादीले वडाध्यक्षमा उम्मेदवारी दिएका ८ वटा वडाबाट १ हजार ९८८ मत पाएको छ भने राप्रपाले २१ वटा वडाबाट ७ हजार ४६० मत पाएको छ ।

यसैगरी साना पार्टीका रुपमा चिनिएका पार्टीहरुले पनि यहाँ केही मत बटुलेका छन् । यहाँ जनमत पार्टीले ८३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७५४, मंगोल नेशनल अर्गनाइजेसनले २८४, लोकतान्त्रिक समाजवादी पार्टीले १११, नेपाली जनता दलले २६, राष्ट्रिय जनमुक्ति पार्टीले ६८, उन्नत लोकतान्त्रिक पार्टीले ९, विवेकशील साझा पार्टीले ६८ मत पाएका थिए ।

यसैगरी केही फरक–फरक वडामा स्वतन्त्र उम्मेदवारहरुले समेत उल्लेख्य मत पाएका छन् । उनीहरुले पाएको कूल मत ३ हजार ४८५ रहेको छ । यसअनुसार, सबै दल आ(आफ्नै ढंगले प्रतिस्पर्धामा उभिए भने ओली स्वतः विजयी हुने देखिन्छ ।

स्थानीय तहको निर्वाचनको आधारमा यस क्षेत्रमा ओलीले कांग्रेस उम्मेदवारभन्दा साढे १८ हजारभन्दा बढी मत पाउने देखिन्छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि त्यो मत ३४ हजार ७९८ मात्रै पुग्छ । त्यस अवस्थामा पनि एमाले अध्यक्ष ओली नै बलियो हुने देखिन्छ ।

अझ एमाले र राप्रपाबीच चुनावी तालमेल भएको खण्डमा परिणाम २०७४ कै जस्तो नहोला भन्न सकिन्न ।  राप्रपाले एमालेलाई समर्थन गरेको अवस्थामा ओलीको मत ४९ हजार ७९ मत पुग्ने देखिन्छ ।

राप्रपा पनि क्षेत्र नम्बर ३ मा एमालेको समर्थन लिएर चुनाव जित्ने दाउमा छ । सो क्षेत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र हो । पछिल्लो समय राप्रपाका अध्यक्ष  लिङ्देन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेको छ । उहाँहरुबीचको भेटवार्तामा के कुरा भयो भन्ने बाहिर नआएपनि आगामी निर्वाचनमा तालमेलका विषयमा कुराकानी भइरहेको सहज अनुमान गर्न सकिन्छ । यदि एमाले र राप्रपाबीच तालमेल भएको खण्डमा झापा ५ मात्र होइन झापाका अन्य क्षेत्र पनि सत्ता गठबन्धनलाई भारी पर्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?