युरोपा लिगमा युनाइटेडको हार

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको समूह चरणको पहिलो खेलमा हार व्यहोरेको छ । युनाइटेड घरेलु मैदानमा स्पेनिस क्लब रियल सोसिडाडसँग १–० को हार व्यहोरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा सोसिडाडको जितमा दोस्रो हाफका ब्राइस मेन्डिसले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । उहाँले ५९औं मिनेटमा गोल गर्नुभएको थियो ।

यही समूह ‘ई’को अर्काे खेलमा एफसी सेरिफले ओमोनिया निकोसियालाई ३-० ले पराजित गरेको छ । यस नतिजासँगै सेरिफ तीन अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान तीन अंक नै रहे पनि सोसिडाड दोस्रो स्थानमा तथा युनाइटेड तेस्रो तथा निकोसिया पुछारमा छ । अन्य खेलमा इंग्लिस क्लब आर्सनल र इटालियन क्लब लाजियोले समूह चरणको पहिलो खेलमा सफलता हात पारेका छन् । आर्सनलले घरेलु टोली एफसी जुरिचमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो । आर्सनलको जितमा मार्किन्होस र इडवार्ड एनकेइटाले गोल गर्नुभयो । जुरिचका मिरलिन्ड क्रिइजिउले एक गोल फर्काउनुभयो ।

खेलको १६औं मिनेटमा मार्किन्होसको गोलबाट आर्सनलले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । ४४औं मिनेटमा मिरलिन्ड क्रिइजिउले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । ६२औं मिनेटमा इडवार्ड एनकेइटाले मार्किन्होसको पासमा गोल गर्दै आर्सनलको जित पक्का गर्नुभयो । यही समूह ‘ए’ को अर्काे खेलमा पिएसभी इन्डोभेन र बोडो/गिल्म्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यस नतिजापछि आर्सनल तीन अंक जोडेर शीर्षस्थानमा रहेको छ । पिएसभी इण्डोभेन र बोडो/गिल्म्टको समान एक अंक छ । अंकविहीन जुरिच पुछारमा छ ।

यस्तै समूह ‘एफ’ को खेलमा लाजियोले डच क्लब फियोनुर्डलाई ४-२ ले पराजित गरेको छ । लाजियोको जितमा माटिएस भेसिनोले दुई तथा लुइस अल्बर्टाे र फिलिपे एन्डरसनले समान एक गोल गर्नुभयो । फियोनुर्डका सान्टियागो जिमिनेजले दुवै गोल गरे पनि हार टार्न सकेनन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?