नवीनकुमार शर्मा/हिटा
दैलेख । भारी बोकेर उकालो चढ्दै गर्दा चौतारी भेटिएपछि एकछिन थकाइ मार्न भनेर बस्ने अनि कम्मरमा बाँधिएको पटुकाभित्र राखिएको सुल्पा भिकेर सँगै कपडामा पोका पारेर राखिएको तमाखुलाई हातले माड्दै सुल्पामा भरेर, बात्तीलाई ढुंगा र फलाम घोटेर आगो निकाल्दै सुल्पा सल्काएर थकाइ मेटाउने विकल्पका रूपमा सुल्पालाई लिइन्थ्यो । दुःख, सुख, मेलापात, घाँसदाउरा जाँदा सँगै लगेर जाने र धुम्रपानका रूपमा यसलाई प्रयोग गर्ने प्रचलन रहेको थियो । सुल्पालाई त्यतिबेला कोशेलीका रूपमा पनि आफूभन्दा ठूला व्यक्तिहरूलाई दिने गरिन्थ्यो । नेपाली परम्परागतरूपमा सुल्पालाई माटोबाट बनाइन्छ ।
विशेष गरेर दैलेख जिल्लामा वादी समुदायले एउटा पेशाका रूपमा सुल्पा बनाउने गर्दथे । नाचगान गर्ने, सुल्पा र मादल बनाउने वादी समुदायहरूको पेशा रहेको थियो । त्यही सुल्पा बेचेर घर–व्यवहार चलाउने गरेको दुल्लु नगरपालिका–३ का दीर्घबहादुर वादी आफ्नो विगतलाई सम्झिनुहुन्छ । यस वडामा पाँच वादी समुदाय बस्ने गर्दछन् । उनीहरूको बस्न र खेतीपाती गर्नका लागि आफ्नो नाममा जग्गा छैन । द्वन्द्वको समयमा खाली जमिनमा बसेका वादी समुदायहरूले विगतको आफ्नो परम्परालाई हालसम्म पनि जोगाइराखेको बमबहादुर वादी बताउनुहुन्छ ।
पहिले–पहिले सुल्पाको धेरै माग हुन्थ्यो, सुल्पा बनाएर बिक्री गर्दा रुपैयाँ, चामल, दाल, पिठो पाउने गरेको सम्झँदै बमबहादुर भन्नुहुन्छ, ‘अहिले त सुल्पा बिक्री हुँदैन, पुराना–पुराना मानिसहरू जो ६० वर्ष कटेका छन् उनीहरूले मात्र किन्ने गर्ने गरेका छन् ।’ सुल्पा पनि फरक-फरक डिजाइनमा बनाइएका हुन्छन् जति धेरै बुट्टा भरेको छ त्यति धेरै मिहिनेत लाग्ने गरेको प्रेम वादी बताउनुहुन्छ । उहाँ अगाडि भन्नुहुन्छ, ‘पहिला–पहिला दिनभरि दुल्लु नगरपालिकाको चाँदनी चोकमा बसेर सुल्पाहरू बिक्रीमा राख्ने र साँझ घर फर्किने गरेका थियौं । हामीले तीस रुपैयाँदेखि पचास रुपैयाँसम्ममा बेच्दै आएका थियौं । तर, पछिल्लो समय बिक्री हुन छाडेपछि विस्तारै छोराछोरीहरू पनि रोजगारीका लागि भारत जान थालेका छन् ।’
समय र विकाससँगै विभिन्न किसिमका धुम्रपान गर्ने वस्तुहरू बजारमा प्रशस्त पाइने गरेको र नयाँ पिँडीले सुल्पाको प्रयोग नगर्ने भएकाले पनि लोप हुँदै गएको छ । बिक्री हुन छाडेकाले वादी समुदायले अन्य पेशा रोज्न थालेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच