नयाँ स्टक एक्सचेन्ज कम्पनीका लागि बाटो खुला

Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय सरकारले स्वीकृत गरेका धितोपत्र बजारसँग सम्बन्धित तीन नियमावली आइतबारदेखि कार्यान्वयनमा आउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ती नियमावली भदौ २६ देखि नै लागू गर्ने निर्णय गरेको छ । बोर्डको शुक्रबार सम्पन्न सञ्चालक समिति बैठकले धितोपत्र दर्ता तथा निष्कासन, धितोपत्र व्यवसायी र स्टक एक्सचेन्ज सञ्चालन नियमावली आइतबारदेखि लागू गर्ने निर्णय गरेको हो । नियमावली लागू भएपछि नयाँ स्टक एक्सचेन्जका लागि आवेदन पनि आहृवान हुने बताइएको छ ।

बोर्डले निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज ल्याउन तथा धितोपत्र ब्रोकरको संख्या थप गर्न तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सार्वजनिक निष्कासन विशेष व्यवस्था गर्न ती नियमावली संशोधन गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । मन्त्रिपरिषद्ले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र व्यवसायी नियमावली, २०६३ र स्टक एक्सचेन्ज सञ्चालन नियमावली, २०६४ मा गरिएको संशोधन स्वीकृत गरेको हो ।

धितोपत्र बजार सञ्चालन नियमावलीमा धितोपत्र बोर्डले चुक्ता पुँजी, सेयर स्वामित्व र सेयरधनी रहन सक्ने व्यवस्थाको संशोधन गरेकोमा मन्त्रिपरिषद्ले निजी क्षेत्रको स्टक एक्सचेन्जले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था थप गरेर स्वीकृत गरेको छ । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधनअनुसार निजी क्षेत्रको चुक्ता पुँजी तीन अर्ब कायम भएको छ ।

बोर्डले धितोपत्र दलाल व्यवसायी नियमावली पनि संशोधन गरेको छ । स्वीकृत नियमावलीअनुसार धितोपत्र दलाल कम्पनीलाई पनि तीन प्रकारमा वर्गीकरण गरेर चुक्ता पुँजी तोकिएको छ । दलाल कम्पनीको कामअनुसार २०, ६० र १५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा वैदेशिक रोजगारी गई रेमिट्यान्स पठाउने नेपालीका लागि साधारण सेयर निष्कासनमा १० प्रतिशत छुट्याउने व्यवस्था थप गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?