प्रहरी प्रशासनकै मिलोमतोमा सिराहमा नदी उत्खनन

हिमालय टाइम्स
Read Time = 5 mins

मुकेशकुमार यादव/हिटा
सिरहा । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासीनता देखाउँदा चुरे क्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप छ । सिरहाको कर्जन्हा नगरपालिका-१ कमला नदीमा राष्ट्रिय योजनाको नाममा स्थापना भएको क्रसरले चुरे क्षेत्रलाई बन्जर बनाइरहेको आरोप छ । सम्झौताविपरीत नदीबाट मनपरीसँग गिट्टी, बालुवा उत्खनन गर्दा पनि जनप्रतिनिधि र प्रहरी प्रशासन नदेखेझैँ गरिरहेको स्थानीयको आरोप छ ।

सिरहाको कर्जन्हा नगरपालिका र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले पूर्व-पश्चिम राजमार्गको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक चार लेन बनाउन चाइना रेल्वे कम्पनीले ठेक्का पाएको छ । १६ भदौ ०७८मा भएको सम्झौताअनुसार कमला नदीबाट उक्त कम्पनीले सडक निर्माणको लागि ८० हजार घनमिटर बालुवा, ढुंगा उत्खनन् गर्न पाउँछ । ८० हजार घनमिटरको कार्यादेश पाए पनि चाइना रेल्वे कम्पनीको दुई लाखभन्दा बढी घनमिटर गिट्टी, बालुवा उत्तखनन गरी खोलाकै छेउमा डम्पिङ गरी राखिएको थियो । सोही गिट्टी, बालुवा अहिले धनुषाको क्रसरमा लगिने गरेको स्थानीय बताउँछन् ।

धनुषाको पोर्ताहास्थित सञ्चालनमा रहेको कमला माई क्रसरका सञ्चालक वेचन शर्माले चाइना रेल्वे कम्पनीको कागजात पेश गरेर राष्ट्रिय महत्वको योजनाको नाममा सम्झौता गरी अवैध गिट्टी, बालुवा उत्खनन भइरहेको कमला बचाउ संघर्ष समितिका अभियन्ता प्रभात सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि तथा प्रहरीको आँखा अगाडिबाट दिनदहाडै सयौँ ट्रिपरले गिट्टी, बालुवा लगिरहेका हुन्छन् । प्रहरी प्रसाशन देखेको नदेख्यैै गर्छ ।’ सामान्यतया वर्षाको तीन महिना खोलाबाट गिट्टी बालुवा निकाल्न पाइँदैन । तर, यो कम्पनीले हिउँदमै निकालेर राखेको नदीजन्य सामग्री ओसारिरहेको छ ।

नगरपालिकाका पूर्वमेयर गंगा पासवान, नवनिर्वाचित मेयर भोला पोखरेल, जिप्रका प्रमुख लालबाबु कवाडी समेतलाई पटकपटक जानकारी गराउँदा उत्खनन रोक्न सकेनौँ भन्ने गरेको अर्का अभियन्ता विनोद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाइना रेल्वे कम्पनीले सम्झौता अनुसारको राजस्व रकमसमेत नबुझाई गिट्टी, वालुवा निकासी गर्दा पनि सम्बन्धित निकाय मौन हुनु मिलोमतो रहेको पुष्टि हुन्छ । उहाँ थप्नुहुन्छ, ‘लाखौँको राजस्व चुहावट भइरहे पनि नियन्त्रणका लागि प्रशासनले कुनै सहयोग नगरेको र प्रहरी प्रशासनले नचाहेसम्म केही हुनेवाला छैन ।’

नदीमा अत्यधिक उत्खनन गरिएका कारण दिन प्रतिदिन यस क्षेत्रको माटो कमजोर र पानीको सतह कम भइरहेको छ । १ असारदेखि भदौ मसान्तसम्म गिट्टी बालुवा ढुवानी निकासीमा रोक लगाए पनि उत्खनन नरोकिएको विषयमा प्रजिअ लालबाबु कवाडीले राजस्व रकम तिरेर राष्ट्रिय महत्वको योजनाको कामको लागि लगि रहेकाले रोक्न नमिल्ने बताउनुभयो । प्रजिअ कवाडीले भन्नुभयो, ‘चाइना रेल्वे कम्पनीले गरिरहेको गिट्टी, बालुवा ढुवानी निकासी हामीले रोक्न मिल्दैन । अरू कसैले चोरी निकासी गरेको पाइएमा कारबाही हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?