दार्चुलामा बाढी-पहिरोको बितण्डा, पाँच जनाको मृत्यु, १० बेपत्ता, करोडौँको क्षति

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । अविरल वर्षासँगै दार्चुलाका विभिन्न ठाउँमा गएको बाढी-पहिरोमा परी पाँच जनाको ज्यान गएको छ । शुक्रबार राति महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको बाढी-पहिरोमा पाँच जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी–पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ का ७७ वर्षीय नन्दराम बोहरा, सोही वडाका ६८ वर्षीय मोहन राम पार्की, महाकाली नगरपालिका–३ की ३५ वर्षीया मानमती कार्की रहनुभएको छ । त्यस्तै, नौगाड–१ सल्लाकी ३२ वर्षीया जानकी ठगुन्ना र सोही वडाकी १५ वर्षीया धनुली ठगुन्नाको पनि पहिरोमा परेर ज्यान गएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी-पहिरोमा परी १० जना हराइरहेका छन् । बेपत्ता हुनेमा महाकाली नगरपालिका-३ डुंग्रीका धनसिंह कार्की, निजकै छोराहरू दीपक कार्की र दिनेश कार्की, वडा नं. २ कि मानमती शाहु, दुहुँ गाउँपालिका घर भई हाल महाकाली नगरपालिका-१ लास्कु पारी डेरा गरी बस्ने ३२ वर्षीया मञ्जु लुहार, २७ वर्षीय दिनेश लुहार, तीन वर्षीया डल्ली लुहार र २५ वर्षीया साजन लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बाढी-पहिरोमा परी आठजना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको नौगाड गाउँपालिका-१ सल्ला बस्ने वीरे ठगुन्ना, रम्भा ठगुन्ना, फागुनी ठुगुन्ना, जयबहादुर ठगुन्ना, महाकाली नगरपालिका-२ मैखोलीका ६४ वर्षीय हर्कसिंह शाहु वडा नं. ४ का अमरसिंह पार्की, मुसी पार्की र नौगाड-६ का वर्ष ३० का राम टमाटा रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार हेलिकप्टरबाट गरिएको थियो । उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएकोमा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि केहीलाई धनगढी लगिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बाढी–पहिरोबाट महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा २६३ चौपाय क्षति, ४२ घर पूर्ण क्षति, नौ मा आंशिक क्षति र ४० घर जोखिममा रहेका प्रहरीले जनाएको छ । एक विद्यालय पूर्णक्षति, एक आंशिक र एक जोखिम, एक विद्युत् पावर हाउस पूर्ण क्षति, दुई झोलुंगे पुल, एक मोटरेबल पुल पूर्णक्षति भएको, ६ जिप, एक कार, एक ट्याक्टर बाढीमा बेपत्ता भएको जनाइएको छ ।

शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले ठूलो क्षति पु¥याएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी मोहन आचार्यले जानकारी दिनुभयो । शनिबार साँझ अबेरसम्म पाँच जनाको शव भेटिएको उहाँले बताउनुभयो । शनिबार रातिसम्म बेपत्ताहरूको अवस्था पत्ता लागेको छैन । अब आइतबार बिहानैदेखि पुनः खोजी कार्यलाई तिव्रता दिने प्रहरीले जनाएको छ ।

बाढी-पहिरोमा पाँचवटा जिप, एउटा कार र एउटा ट्याक्टर पनि हराएको उहाँले बताउनुभयो । बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा खोज तथा उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

महाकाली नगरपालिकास्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदी किनारमा बाढी आएको हो । खोलाको माथिल्लो भागमा वर्षाको पानी जम्मा भएर एकैपटक बग्दा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । बाढी-पहिरोको क्षतिको पूर्ण विवरण प्राप्त नभइसकेका कारण मृतक र बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । यसअघि वि.सं. २०७० असार ३ गते महाकाली नदीले वितन्डा मच्चाएको थियो । दार्चुलाको सरदमुकाम खलंगा तवाह बनेको थियो । बाढीले १५८ घरहरू बगाउँदा २०० अधिक परिवार प्रभावित भएका थिए ।

उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी–पहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत गृहमन्त्री खाँणले निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गृहमन्त्रीको निर्देशनपछि बाढी र पहिरोमा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेर उद्धार गरेको थियो ।

गृहमन्त्री खाँणले बाढी-पहिरोबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिनुभएको छ । उहाँले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

पीडितलाई राहत वितरण
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्र बडूसहितको टोली राहत लिएर शनिबार दार्चुला पुगेको छ । हेलिकप्टरमार्फत लगिएको राहत सामग्री पीडित परिवारलाई वितरण गरिएको प्रहरी निरीक्षक जगत मगरले बताउनुभयो । मन्त्री बडूसँगै सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र उद्योग, वन तथा वनमन्त्री मानबहादुर धामी पनि दार्चुला पुग्नुभएको थियो । बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरू लगायतका राहत सामग्रीसहित लगिएको छ ।

राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँहरू दार्चुला पुग्नुभएको हो । संघीय र सुदूरपश्चिम सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । दार्चुलामा बर्सेनि बाढी-पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको छ ।

सोमबारदेखि मनसुन थप सक्रिय हुँदै, अझै केही दिन वर्षा हुने
देशभर अझै केही दिन वर्षा हुने भएको छ । अझै केही दिन अधिकांश स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार सोमबारदेखि मौसम थप सक्रिय हुने सम्भावना छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको उहाँले बताउनुभयो । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुने विभागले जनाएको छ । विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?