मध्यपुर ठिमी-७ टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ भक्तपुर जिल्लाव्यापी अन्तरवडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । वडा प्रतियोगितामा ठिमी-७ एक स्वर्ण, दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो ।

यस्तै, दोस्रो स्थानमा रहेको मध्यपुर ठिमी-८ एक स्वर्ण र एक कास्य पदक प्राप्त गर्न सफल भयो । बराबर एक स्वर्ण प्राप्त गरेका सूर्यविनायक नगरपालिका-८ र मध्यपुर ठिमी नपा-४ संयुक्तरूपमा तेस्रो स्थानमा रहे ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगितामा पुरुषतर्फ सूर्यविनायक नगरपालिकाका आयुष प्रजापती र महिलातर्फ मध्यपुर ठिमी-४ की कृषा श्रेष्ठले उपाधि उचाल्नुभयो । आयुषले सूर्यविनायक-३ का रमेश बस्नेतलाई २१-१३, १८-२१, २१-१६ ले पराजित गर्नुभयो भने कृषाले मध्यपुर ठिमी-७ की शर्मिला केसीलाई २१-१८, १७-२१, २१-१२ ले पराजित गर्नुभयो ।

पुरुष युगलतर्फ मध्यपुर-७ का भीमराज कार्की र साजन न्यौपानेको जोडीले उपाधि उचाल्यो । उक्त जोडीले ठिमी- ७ कै अशोक अधिकारी र महेश कार्कीलाई २१-११, २१-१० ले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

पुरुष युगल ४५ वर्षमाथिको प्रतिस्पर्धामा ठिमी-८ का पूर्णहरि होना र प्रेमभक्त ज्यानाको जोडीले बाजी मार्‍यो । उक्त जोडीले ठिमी–३ का भीम गिरी र देन लामाको जोडीलाई २१-१६, २१-१९ ले पराजित गरेको हो ।

१२ लाखको लागत रहेको प्रतियोगिताका विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गरे । २०० बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाइटी ब्याडमिन्टन हलमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?