ज्येष्ठ नागरिकलाई टोलमै उपचार, निःशुल्क सेवा पाएपछि उत्साहित

हिमालय टाइम्स
Read Time = 6 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पाको तानसेन नगरपालिका-३ भगवती टोलका ६० वर्षीय अनमोल श्रेष्ठलाई उमेर ढल्कँदै गएपछि बेला–बेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । टोलमै पुगेर स्वास्थ्यकर्मीले उहाँको चेकजाँच गर्न थालेपछि उहाँ खुसी हुनुभएको छ । चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलमै आएर उहाँको प्रेसर र सुगर चेक गरे । त्यसपछि उहाँलाईँ निःशुल्क औषधि दिएर घर फर्किए । उहाँले भन्नुभयो, ‘टोलमै आएर यसरी चेकजाँच कहिले भएको थिएन । जेहोस् अहिले स्थानीय सरकारले हामीलाई पनि हेरेछ । हामी ज्येष्ठ नागरिकका लागि स्वास्थ्यकर्मी खटाएछ । यो निकै खुसीको कुरा हो ।’

तानसेन-३ कै ७५ वर्षीया माया चौहानलाई पनि मुटुको समस्या देखिएको छ । बेला-बेला उहाँले पनि औषधिका लागि घरपरिवारका सदस्यसँग भन्नुपर्ने हुन्छ । तर, अहिले भने स्वास्थ्यकर्मी टोलमै आएर चेकजाँच र औषधि दिएपछि उहाँ पनि खुसी हुनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी बुढेसकालका मानिसका लागि पनि सरकारले सोचेजस्तो लाग्यो । उमेरमै हामीले पनि समाजका लागि केही गरेका छौं । अहिले शरीरले साथ नदिँदा स्थानीय सरकारले स्वास्थ्यकर्मी घरटोलमै पठाएर सेवा दिँदा खुसी भएका छौं ।’ चौहानले पनि सुगर, प्रेसर, मुटुको चेकजाँच तथा इसिजी गरी निःशुल्क औषधी पाएको बताउनुभयो । ‘स्थानीय सरकार भनेको घरदैलोको सरकार हो, सरकारले बाटो खन्ने, भवन बनाउने काममात्र नगरी मानव स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्नेखालका जनचेतनामूलक तथा स्वास्थ्य शिविर सञ्चालन गर्नु हामीजस्ता दीर्घरोगी वृद्धहरूका लागि ठूलो सहयोग पुगेको छ,’ वसन्तपुरका ७४ वर्षीय आनन्द बुढाप्रितीले भन्नुभयो । अहिले स्वास्थ्य बीमाका कारण आफूहरूले निकै दुःख पाएको उहाँले गुनासोसमेत गर्नुभयो ।

भगवती टोलकै मिन परियारलाई दम छ । उहाँलाई दमको औषधि नहुँदा धेरै समस्या हुने गरेको छ । तर, स्वास्थ्यकर्मी टोलमा नै गएर जाँच गरे र औषधि दिए । ‘बुढेसकालमा रोगले च्याप्यो । स्वास्थ्यकर्मी टोलमै आएर औषधि दिएको यो पहिलोपटक हो । यसले मजस्ता बुढाबुढीहरूलाई सजिलो भएको छ’, उहाँले भन्नुभयो । तानसेन-३ को वडा कार्यालयले दीर्घरोगी र वृद्धवृद्धाहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिदिन थालेपछि खुसी भएका यी केही प्रतिनिधि पात्रमात्रै हुन् । यहाँका तीन सय बढी वृद्धवृद्धाहरू टोलमै निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएपछि उत्साहित भएका छन् ।

स्वास्थ्य शिविरमा वृद्धवृद्धा लौरोको सहारामा चेकजाँच गर्न पुगेका थिए । व्यस्त जीवनशैली, अस्वस्थकर खाना, जंगफुडको बढ्दो प्रयोगका कारण समाजमा अहिले सुगर, प्रेसरका रोगीहरू अत्यधिक बढ्दै गएकाले उनीहरूलाई प्रत्यक्षरूपमा मुटुमा असर गर्ने भएकाले वडा कार्यालयले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीलाई केन्द्रित गरी शिविर सञ्चालन गरेको हो ।

४० वर्ष उमेरमाथिका अधिकांश व्यक्तिहरूलाई सुगर, उच्च रक्तचाप रहेको, स्वास्थ्य बीमाको झन्झटिलो प्रक्रियाका कारण बिरामीहरू रोग लुकाएर बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, रोग लागेका बिरामीहरूलाई औषधि उपचारका कारण दीर्घजीवी बनाउन, रोग नलागेका व्यक्तिहरूलाई समय–समयमा चेकजाँच गरी पूर्वसावधानी अपनाउनुपर्छ भन्ने आमवडावासीहरूलाई जनचेतना जगाउन स्वास्थ्य शिविर सञ्चालन गरिएको वडाध्यक्ष बाबुरत्न शाक्यले बताउनुभयो ।

निर्वाचनको समयमा अधिकांश वृद्धवृद्धा दीर्घरोगीहरूले वडामा समय-समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको र आफ्नै घरटोलमा स्वास्थ्य शिविर सञ्चालन भएपछि अस्पताल जान नसकेका वृद्धवृद्धा, अपांग, शारीरिक अशक्त भएका व्यक्तिहरूलाई टोल-टोलमा चेकजाँच र औषधि उपचारले बिरामीको आयु बढाउन मद्दत मिलोस् भनी यो अभियान चलाएको अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभियानलाई हरेक महिनाको अन्तिम शुक्रबार दुईजना चिकित्सक राखेर चेकजाँच र औषधि वितरण गर्ने तयारीमा वडा कार्यालय रहेको छ ।’ शिविरमा लुम्बिनी मेडिकल कलेजका चिकित्सकले सेवा प्रदान गरेका थिए भने शिविरको व्यवस्थापनमा संगमपथ दिदीबहिनी समूहले सहयोग गरेका छन् । शिविरमा तीन सय वडावासीलाई स्वास्थ्य चेकजाँच गरी औषधि वितरण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?