लुम्बिनी सरकारको गौरवको योजना ट्रमा सेन्टर : आगामी वर्ष काम सम्पन्न गर्ने सम्झौता

Read Time = 5 mins

-विवेक खड्का
दाङ । अव चोटपटक लागेका, सवारी दुर्घटनामा परेर अंगभंग भएकाहरुको उपचार स्थानीयस्तरमा हुने भएको छ । जसका लागि लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा ट्रमा सेन्टर परेको छ । जसअन्तर्गत लमहीमा ट्रमा सेन्टर निर्माणको काम धमाधम चलिरहेको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय ट्रमा सेन्टर बनाउने योजना प्राथमिकतामा पारेको थियो । त्यही प्राथमिकताका साथ प्रदेश सरकारले महत्वका साथ ट्रमा सेन्टरमा लगानी लगाएको छ ।

स्थानीयस्तरमा छिटो पूर्वाधार निर्माणका काम सकेर उपचार सेवा सञ्चालन गर्न माग गरिएको छ । ‘ट्रमा सेन्टर आवश्यक स्वास्थ्य सेवा हो । राजमार्गमा हुने सवारी दुर्घटनाका साथै अन्य घटनाका बिरामीलाई नयाँ जीवन दिन ट्रमा सेन्टर आवश्यक छ’– सामाजिक अभियन्ता गंगाराम भट्टराईले भन्नुभयो– ‘भौतिक निर्माणको काम नरुक्ने गरी निरन्तरता दिने र समयमै उपचार सेवा थाल्ने काममा ध्यान दिन जरुरी छ ।’ अहिले जग निर्माणको काम सकेर अब स्ट्रक्चर बनाउन शुरु भएको छ । २९ करोड २३ लाख १७ हजारको लगानीमा ट्रमा सेन्टर भवन निर्माणको काम चलिरहेको शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवले जानकारी दिनुभयो । ‘सम्झौता अनुसार काम अघि बढिरहेको छ । अहिले जग निर्माणको काम सकेर स्ट्रक्चर बनाउने काम जारी छ’– उहाँले भन्नुभयो– ‘निर्माण कम्पनीले तीब्ररुपमा काम गरिरहेको पाएका छौं ।’ लामा एण्ड गौरी शंकर हिमालयन कन्स्ट्रक्सन प्रालिले भवन निर्माण गरिरहेको छ । आयोजनाको सम्झौता २०७७ चैत २४ गते भएको थियो । २०७८ वैशाख ३ बाट काम शुरु गरेको कम्पनीले आगामी वर्ष असार ३ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता छ ।

दुर्घटनामा परेका मानिसले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । विभिन्न दुर्घटनामा परेर चोटपटक लागेर शरीरका अंगहरु भाँचिन पुग्दा समयमा उपचार नपाउने समस्या छ । स्वास्थ्य क्षेत्र सुधार र उपचार सेवालाई प्रभावकारी बनाउन ट्रमा सेन्टर निर्माणको योजनालाई प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताउनुभयो । ‘हामीले शुरुका दिनबाटै यो कुरालाई उठाउँदै आएका हौं । अहिले ट्रमा सेन्टर निर्माणपश्चात यहाँको स्वास्थ्य उपचारमा ठूलो परिवर्तन आउने छ’– शर्माले भन्नुभयो– ‘ट्रमा सेन्टरले प्रदेशका सबै जिल्लासँग लमहीलाई जोड्नेछ ।’ ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँ हो । चिकित्सकहरूका अनुसार रोग र चोटपटक फरक कुरा भएकाले यसको उपचार विधि, उपकरण र विशेषज्ञ पनि फरक हुन्छन् । दुर्घटना वा प्रकोपस्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पु¥याइने घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैनन् । गम्भीर घाइतेलाई उचितढंगले ट्रमा सेन्टर पु¥याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन र काम गर्न सक्छन् । ‘सामान्यतया सवारी दुर्घटना, रुखबाट खसेर चोटपटक लाग्दा, माटोको ढिस्कोमा पुरिएर घाइते हुँदालगायतका दुर्घटनामा परेर घाइते हुने बिरामीको उपचारका लागि ट्रमा सेन्टर आवश्यक पर्छ’– फ्लोरेन्स अस्पताल लमहीका डा. पुष्प भुसालले भन्नुभयो– ‘हाम्रो क्षेत्रमा हेर्ने हो भने सवारी दुर्घटनामा परेर घाइते हुने बिरामी धेरै हुन्छन् । पूर्व–पश्चिम राजमार्ग धेरै दुर्घटना हुने सडकभित्र पर्छ । धेरै राहत सवारी दुर्घटनाका घाइतेहरुलाई हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?