युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

Read Time = 3 mins

किभ । युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजारभन्दा बढी मानिसलाई विस्थापित गरिएको युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ । विशेषगरी अनिवार्य रूपमा विस्थापित गराउनपर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताउनुभएको छ ।

‘६ हजार वर्ग किलोमिटर क्षेत्र रुसी सैनिकबाट नियन्त्रणमा लियौँ’
रुसले कब्जा गरेका क्षेत्र युक्रेनी सैनिकले आफ्नो नियन्त्रणमा लिने क्रम जारी राखेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आफ्ना सैनिकले प्रतिरक्षा आक्रमणको क्रममा थप क्षेत्र नियन्त्रणमा लिएका हुन् । युक्रेनी सैनिकले सेप्टेम्बरमा पूर्व र दक्षिणबाट रुसी कब्जाबाट ६ हजार वर्ग किलोमिटर क्षेत्रभन्दा बढी नियन्त्रणमा लिएको जेलेन्स्कीले बताउनुभएको छ ।

रुसले युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा खार्किभका प्रमुख स्थान आफूले गुमाएको स्वीकार गरेको छ । केही सैन्यविज्ञहरूले यसलाई जारी युद्धको ब्रेकथ्रु भनेका छन् । पछिल्ला दिनमा खार्किभ क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरिनुलाई रुसले ‘पुनर्संरचना’ भनेको छ । लुहान्स्क र डोनेट्स्क क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्ने रुसले जनाएको छ । रुसले गत २४ फ्रेब्रुवरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?