बहराइनसँग नेपालको लज्जास्पद हार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे। यस जितसँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकालेको छ।

खेलको २० औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाए । नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो ।

बहराइनले २ खेलमा ४ अंक जोडेको छ। नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ। साथै नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो ।

अब नेपालले अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?