खोटाङमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

हिमालय टाइम्स
Read Time = 4 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । खोटाङमा डेंगु र स्क्रब टाइफसका बिरामी देखापर्न थालेका छन् । दशजना डेंगुका र दुईजना स्क्रब टाइफसका बिरामी देखिएका छन् । जिल्ला अस्पतालका अनुसार नौजना पुरुष र एकजना महिलामा डेंगु तथा दुईजना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । दैनिक प्रायः डेंगुका बिरामी अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन् ।

डेंगु एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, वाक्वाकी लाग्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, हाडजोर्नी तथा मांशपेशीहरू दुख्नु, शरीरमा बिमिरा आउनु, रक्तश्राव हुनु डेंगुका मुख्य लक्षणहरू हुन् । शरीरका छालाहरूमा रगत जमेका जस्ता दागहरू देखा पर्नु, नाक तथा गिजाबाट रगत बग्नु, पेट दुख्नु तथा कालो दिशा आउनु, खाना तथा पिउन गाह्रो हुनु, फरक किसिमको व्यवहार तथा बेहोस हुनु, सास फेर्न गाह्रो हुनु तथा हातखुट्टा चिसो हुनु, पिसाब कममात्रामा आउनु डेंगुका जटिल लक्षण भएको चिकित्सकहरू बताउँछन् ।

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ, थोरै र सफा पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायरहरूमा पानी जम्न नदिने, पानीका ट्यांकीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने, कुलर, एसी र फ्रिजको वास्ट बक्समा रहेको पानीमा प्रत्येक हप्ता एक वा दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फूलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्ने गर्नुपर्दछ ।

यस्तै, यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला वा शरीर पूरै ढाक्ने लुगा लगाउनुपर्दछ, सम्भव भएसम्म दिउँसो सुत्दा झुलको प्रयोग गर्ने साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ, लामखुट्टे भगाउने मलहम दल्ने, घरका झ्यालढोकामा जाली लगाउने, घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र डेंगु रोगको लक्षण चिहृन देखिने बित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?