भारतमाथि नेपालको ऐतिहासिक जित

उपाधिका लागि सोमबार बंगलादेशसँग प्रतिस्पर्धा हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौ । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराएको हो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयो ।

पहिलो हाफको इञ्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गर्नुभएको थियो । मैदानको आफ्नै भागबाट आएको लङ पासमा उत्कृष्ट ड्रिबलिङ गर्दै प्रिति राईले रश्मीलाई पास उपलब्ध गराउनुभएको थियो । खेलको सुरुवातमा भारतले दबाब बनाएपनि त्यसपछि नेपाल आक्रामक देखिएको थियो । दोस्रो हाफको सुरुवातमै भारतीय गोलरक्षकले लगातार उत्कृष्ट बचाउ गर्नुभयो ।

५० औँ मिनेटमा अनिता जैँसीको उत्कृष्ट हेडरलाई भारतीय गोलरक्षकले गोल लाइनबाट जम्प गर्दै क्लियर गर्नुभएको थियो । एक मिनेटलगत्तै रश्मि घिसिङको प्रहारलाई पनि भारतीय गोलरक्षकले विफल बनाउनुभयो । ६५ औँ मिनेटमा प्रिति राईले डी-बक्सबाट गरेको प्रहार साइड बारको नजिकैबाट बाहिरिएको थियो ।

८३ औँ मिनेटमा नेपालकी कप्तानसमेत रहनुभएकी गोलरक्षक एन्जिला तुम्बाहाम्पो लिम्बुले शानदार बचाउ गर्दै नेपालको संकट टार्नुभएको थियो । नेपाल यो खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारीबिना नै उत्रिएको थियो ।

नेपालले साफ महिला च्याम्पियनसिपमा भारतलाई पहिलोपटक हराएको हो । यसअघि सम्पन्न पाँच संस्करणमध्ये चारवटामा फाइनल पुगेपनि नेपाललाई भारतले ती सबैमा निराश बनाएको थियो । नेपाल अर्को एक संस्करणमा भारतसँग पराजित भएर सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोलले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल आगामी सोमबार दशरथ रंगशालामा हुनेछ ।

नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन । समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?