सुदूरपश्चिममा पहिरो र डुबानः अछाममा १७ जनाको मृत्यु

दार्चुलाका दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

महेन्द्रनगर । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराेका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उहाँका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ ।

हालसम्म तुर्माखाँद गाउँपालिका-५ मा चार, कमलबजार नगरपालिका-६ मा सात र वडा नं-८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिराेमा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका-६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिराेमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताउनुभयो ।

“यकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ”, उहाँले भन्नुभयो, “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।”

त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ । अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुरका सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरु, लालझाडी गाउँपालिका-३, शुक्लाफाँटा नगरपालिका-१२, बेलौरी नगरपालिका-५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ ।

प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले डुबान परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । “केही जङ्गलमा बसेका छन् भने कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन्”, उहाँले भन्नुभयो, “बाढीले शुक्लाफाँटा-१२ दुवाहमा झोलुङ्गे पुलसमेत बगाएको छ ।” जिल्लाभर उद्धारमा सुरक्षाकर्मी खटिएका छन् । “गए राति २ बजेदेखि नै प्रहरी टोली परिचालन गरिएको छ ।”

त्यसैगरी वर्षापछि आएको बाढीका कारण कैलालीको चुरे गाउँपालिका-६ बालकोटस्थित भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । सोही गाउँपालिकाको वडा नं-५ र ६ स्थित भीमदत्त राजमार्गको अन्य पाँच स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध छ ।

कैलालीको भजनी नगरपालिका-८ पथरिया नदीमा बाढी आउँदा सोनाफाटा, दैलेखी, भरतान, जनकपुर र छछरहवा टोल डुबानमा परेको छ । नदीमा पानीको बहाब बढ्ने क्रम जारी छ । वडा नं-५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलमा बाढी पसेको छ ।

दार्चुलाका दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

पहाडी जिल्ला दार्चुलामा गत भदौ २४ गते वर्षासँगै पहिराेबाट क्षतविक्षत भएका महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यी दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको प्रजिअ दीर्घराज उपाध्यायले बताउनुभयो ।

वर्षाका कारण महाकाली र नौगाडमा ठूलो धनजनको क्षति भएको थियो । विपद् व्यवस्थापन समितिले मानवीय क्षति तथा भौतिक क्षतिको विवरण गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारलाई पठाइएको नौगाडका अध्यक्ष दलजीतसिंह धामीले बताउनुभयो । बाढीपहिराेमा परी दार्चुलामा पाँचजनाको मृत्यु भएको थियो, भने १० जना बेपत्ता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?