कान्तिपुर हाफ म्याराथन जेठमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कान्तिपुर पब्लिकेशन्स प्रालिको आयोजनामा हुने ‘कान्तिपुर हाफ म्याराथन’ को ११औँ संस्करण आगामी जेठ ६ गते हुने भएको छ । ‘लेस्ट गो ग्रिन टुगेदर’ नाराका साथ आयोजना हुने म्याराथनमा यसपल्ट पहिलोपटक कलेज रनसमेत राखिएको छ । कलेज रन सात किलोमिटरको हुने आयोजकले जनाएको छ । जसमा १८ वर्षमाथिका विद्यार्थीहरूले दौडिन पाउनेछन् । यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (पाँच किमी) र हिृवलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।

हाफ म्याराथन पुरुष र महिला दुवैको विजेताले जनही एक लाख पाउने पब्लिकेशनले जनाएको छ । त्यस्तै, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छैटौँ हुनेले पाँच हजार पाउनेछन् । शारीरिकरूपमा फरक क्षमता हुने हिृवलचियरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन् । कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् । कर्पोरेटतर्फको विजेतालाई केएफसी र हेम्स हस्पिटलबाट विभिन्न गिफ्ट हृयाम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

सबै विधामा गरी तीन हजारभन्दा बढीले म्याराथनमा भाग लिने अपेक्षा आयोजकको छ । खेलाडी दर्ताका लागि जेठ १ गतेसम्मको समय तोकिएको छ । कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, ठिमी, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डला हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिनेछ ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ती लगाएर पुनः बानेश्वर मण्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिनेछ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने हिृवलचेयर रेस, थापाथली, माइतीघर मण्डलाको फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिनेछ ।

पहिलोपटक समावेश गरेको कलेज रन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डला हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिनेछ ।

गत वर्ष पुरुषतर्फ नेपाल एपिएफ क्लबका गोपिचन्द्र पार्की र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई विजेता बन्नुभएको थियो । नवौँ संस्करणमा माल्दिभ्सका दुई खेलाडी यसमा सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?