नेपाल-युएई चेम्बरमा नयाँ नेतृत्व

Read Time = 3 mins

काठमाडौं । नेपाल-युएई चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको छैटौं वार्षिक साधारणसभाले पवनकुमार अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा जीवन भण्डारी र अखिल चापागाईं, महासचिवमा शिवकुमार अग्रवाल, कोषाध्यक्षमा प्रेम पाण्डे र सचिवमा उमेश रायमाझी निर्वाचित हुनुभएको छ । सदस्यमा अनुज रिमाल, अम्बिका शर्मा, ज्योत्स्ना श्रेष्ठ, चन्द्र टण्डन, समिर थापा, निशानराज भण्डारी र रतन केडिया रहनुभएको चेम्बरले जनाएको छ । युएईसँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको दोहन गर्न पहल गर्नुपर्ने व्यवसायीले बताएका छन् । युएईसँगको ठूलो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै दुई देशबीच सन्तुलित व्यापारका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनीहरूले बताएका हुन् ।

गत आर्थिक वर्षमा नेपालले युएईबाट ४७.९ अर्बको आयात गरेको थियो भने निर्यात करिब ४६ करोडको मात्रै गरेको थियो । नेपालस्थित युएईका राजदूत सइद हमदान अलनक्बीले नेपालको सामान र पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार र व्यवसायीले युएई सरकार र त्यहाँका व्यवसायीसँग सहकार्य गर्नुपर्ने बताउनुभएको छ । युएईका पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने उहाँको भनाइ छ ।

विशेषगरी आप्रवासी श्रमिकका लागि सीप तालिम दुई देशबीचको एजेण्डा भएको भन्दै उहाँले युएईले पनि यस क्षेत्रमा काम गर्न चाहेको जानकारी गराउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले दुई देशबीचको सम्भावित सहयोगका आर्थिक क्षेत्र पहिचान गरी सहकार्यमा जोड दिनुभयो ।

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद सेठियाले नेपालमा प्रशस्त आकर्षक गन्तव्य भए पनि सम्भाव्यताका तुलनामा निकै कम व्यक्तिहरूले नेपाल भ्रमण गर्ने गरेको बताउनुभयो । नेपाल युएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले नेपालबाट तरकारी, फलफूल, खानेपानी, लत्ताकपडा, गलैंचा, चियाकफी, पश्मिना सललगायत निर्यातको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युएईमा करिब साढे तीन लाख नेपालीको बलियो समुदाय छ, जुन नेपाली उत्पादन र सेवाका लागि राम्रो बजार हो । हामी यस सम्बन्धमा काठमाडौंस्थित युएई दूतावासको पनि सहयोगको अपेक्षा गर्छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?