महालय श्राद्धको निर्णय र मातृ नवमी श्राद्ध

Read Time = 21 mins

✍️ तोयराज नेपाल

आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा महालय पक्ष पनि भनिन्छ । यस पक्षमा सक्नेले प्रतिपदादेखि औंसीसम्म प्रत्येक दिन पार्वण श्राद्ध गर्नुपर्छ । तिथि वृद्धि भएमा वृद्धि भएको तिथिमा समेत श्राद्ध गर्नुपर्दछ । तिथि क्षय भएमा घटी नै श्राद्ध गर्दा हुन्छ, भन्ने एउटा पक्ष छ ।

भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औंसीसम्म १६ दिन श्राद्ध गर्नुपर्दछ, भन्ने दोस्रो पक्ष छ भने आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म–१६ दिन श्राद्ध गर्नुपर्दछ भन्ने तेस्रो पक्ष छ । यसमा सक्नेले १६ दिन नै श्राद्ध गर्नुपर्दछ, नसक्नेले आफ्नो सामर्थ्य हेरी पञ्चमीदेखि औंसीसम्म, त्यो नसक्नेले अष्टमीदेखि औंसीसम्म र त्यो पनि नसक्नेले दशमीदेखि औंसीसम्म श्राद्ध गर्नुपर्दछ । त्यसमा पनि नसक्नेले पितृपक्ष भरिमा एक दिन मुख्यरूपमा बाबुको मृत तिथिमा अवश्य श्राद्ध गर्नुपर्दछ । ‘स्मृतिकौस्तुभ’को वचन छ-
कन्यागते सवितरि पितरो यान्ति वै सुतान् ।
शून्या प्रेतपुरी सर्वा यावद् वृश्चिकदर्शनम् ।।
अर्थात् सूर्य कन्या राशिमा पगएपछि पितृलोक (प्रेतलोक) शून्य पारी पितृहरू आफ्ना पुत्रका समीपमा जान्छन् र उनीहरूबाट पिण्डदानादिको आशा गर्दछन् । पितृलाई तृप्त पार्नु ठूलो धर्म र कर्तव्य पनि हो । त्यसैले अवश्य श्राद्ध गर्नुपर्दछ । निर्णय सिन्धुमा हेमाद्रिको वचन छ-

आषाढ्याः पञ्चमे पक्षे कन्यासंस्थे दिवाकरे । यो वै श्राद्धं नरः कुर्यादेकस्मिन्नपि वासरे ।। मृताहानि पिर्तुयो वै श्राद्धं दास्यति मानवः । तस्य संवत्सरं यावत् सन्तृप्ताः पितरो वम् ।। निर्णयसि.चूडामिटी.२८६,२८७
आषाढ शुक्ल पूर्णिमादेखि पाँचौं पक्ष आश्विन कृष्णपक्ष हो । यसलाई पितृपक्ष भनिन्छ । यस पक्षमा एक दिनमात्र पनि पिताका मृत तिथिमा जसले श्राद्ध गर्दछ, त्यसका पितृहरू वर्षदिनसम्म तृप्त हुन्छन् । कात्यायनको वचन छ– या तिथिर्यस्य मासस्य मृताहे तु प्रवर्तते । सा तिथिः पितृपक्षे तु पूजनीया प्रयत्नतः ।।
तिथिच्छेदो न कर्तव्यो विनाशौचं यदृच्छया । पिण्डश्राद्धं च कर्तव्यं विच्छित्तिं नैव कारयेत् ।। अशक्तः पक्षमध्ये तु करोत्येकदिने यदा । निषिद्धेऽपि दिने कुर्यात् पिण्डदानं यथाविधि ।। नि.सि.२८७
अर्थात् जुन महिनाको जुन तिथिमा पिताको मृत्यु भएको हो, पितृपक्षको त्यसै तिथिमा प्रयत्नपूर्वक श्राद्ध गर्नुपर्दछ । जुठो सुतकमा बाहेक अरू कारणले तिथि परिवर्तन गर्नु हुँदैन । श्राद्ध गर्नुपर्दछ । कहिल्यै पनि श्राद्ध छाड्नु हुँदैन । पिताका तिथिमा श्राद्ध गर्दा निषिद्ध तिथि नक्षत्रादि बार्नु पर्दैन, तर कसैका पिताको मृत्यु चतुदर्शी अथवा पूर्णिमामा भएको भए मृत तिथिमा श्राद्ध गर्नु हुँदैन । यसमा धर्मसिन्धुमा उल्लेख छ-

चतुर्दश्यां मृतस्यापि महालयश्चतुर्दश्यां न भवति । श्राद्धं शस्त्रहतस्यैव चतुर्दश्यां प्रकीर्तितम् ।।
इति नियमेन सर्वतो बलिष्ठेन प्रतिवार्षिकश्राद्धातिरिक्तश्राद्धस्य चतुर्दश्यां निषेधात् । एवं पौर्णमासीमृतस्यापि महालयः पौर्णमास्यां न कार्यः । अपरपक्षत्वाभावेन तस्यां महालयाप्राप्तेः । तेन चतुर्दशीमृतस्य, पौर्णमासीमृतस्य वा महालयो द्वादस्यमावास्यादितिथिषु कार्यः । ध.सि.सुधा–१५९ हेम–२८७
चतुर्दशी र पूर्णिमामा मृत्यु हुनेको महालय मृततिथिमा नगरी द्वादशी, अमावास्या, अष्टमी व्यतीपातयोग र भरणी नक्षत्रमा गर्नुपर्दछ । चतुर्दशीमा शस्त्रादिहतको मात्र श्राद्ध गर्नू भन्ने बलवान् नियम हुँदा कालगतिले मृत्यु हुनेको श्राद्ध निषेध गरिएको हो । पूर्णिमामा भने अपरपक्ष (कृष्ण पक्ष) लागेकै हुँदैन र महालयको प्राप्ति नहुने हुँदा श्राद्ध गर्न हुँदैन, भनिएको हो ।
बाबुका तिथिमा आशौचवश श्राद्ध भएन भने धर्मसिन्धुमा उल्लेख छ-

‘मृततिथौ श्राद्धासम्भवे निषिद्धतिथ्यादिदिनं वर्जयित्वा महालयः । तत्रापि द्वादश्यमावास्याष्टमीभरणीव्यतीपातेषु मृततिथ्यभावेऽपि सकृन्महालये कोऽपि तिथ्यादि निषेधो नास्ति । ध.सि.सुधा १५८ हेम १८०
अमापाते भरण्यां च द्वादस्यां पक्षमध्यके । तथा तिथिं च नक्षत्रं वारं च न विचारयेत् ।। नि.सि.चू.टी.२८६ उपर्युक्त दुवै वचनको अर्थ एउटै छ । मृत तिथिमा श्राद्ध हुन संभव भएन भने निषिद्ध तिथि, वार आदि छाडी श्राद्ध गर्नुपर्दछ । त्यसमा पनि द्वादशी, औँसी, अष्टमी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन तिथ्यादिनिषेधको विचार गर्नुपदैन । श्राद्ध गर्नु हुन्छ ।
हाम्रो समाजमा बाबुका तिथिमा मघा पर्‍यो वा आशौच प¥यो भने हजुरबाका तिथिमा महालय श्राद्ध गर्दछन् तर त्यसो गर्नु हुँदैन । मघा परे पनि पिताको तिथिमा श्राद्ध छाड्नु हुँदैन, त्यसैदिन गर्नैपर्छ । आशौच परेमा हजुरबाका तिथिमा गर्नु हुँदैन । द्वादशी, औँसी, अष्टमी, भरणी नक्षत्र र व्यतीपातयोगमध्ये कुनै एक दिन गर्नुपर्दछ । पिताको तिथि आशौचबाहेक कुनै हालतमा पनि छोड्नु हुँदैन । निषिद्ध तिथ्यादिबारे वचन छ-

नन्दायां भार्गवदिने चतुर्दश्यां त्रिजन्मसु । एषु श्राद्धं न कुर्वीत गृही पुत्रधनक्षयात् ।। प्राजापत्ये च पौष्णे च पित्रर्क्षे भार्गवे तथा । यस्तु श्राद्धं प्रकुर्वीत तस्य पुत्रो विनश्यति ।। नि.सि.–२८५
नन्दातिथि भनेका प्रतिपदा, षष्ठी र एकादशी हुन् । शुक्रवार, चतुर्दशी, जन्म नक्षत्र, जन्म नक्षत्रभन्दा पहिलो र पछिल्लो नक्षत्र, रोहिणी नक्षत्र, रेवती र मघामा पनि बाबुको तिथि नपर्दा महालय श्राद्ध गर्न हुँदैन । कतै जन्म नक्षत्रबाट दशौं नक्षत्र र उन्नाइसौँ नक्षत्रमा पनि श्राद्ध गर्नु हुँदैन भन्ने पनि छ ।

कतै सप्तमी, त्रयोदशी, भौमवार र कृत्तिका नक्षत्रमा पिण्डदान नगर्नू भन्ने पनि छ । तर यी सबै कुरा बाबुका मृततिथिमा श्राद्ध गर्नेका लागि बार्नुपर्दैन् । जेसुकै भए पनि बाबुका मृततिथिमा श्राद्ध गर्नैपर्दछ । आशौचादिका कारणले पितृपक्षको औसीसम्म पनि श्राद्ध हुन सकेन भने (ध.सि.मा) यस्तो उल्लेख छ-अमापर्यन्तं तिथावसम्भवे आश्विनशुक्लपञ्चमीपर्यन्तं यस्मिन् कस्मिंश्चित्तिथौ महालयः । तत्रासम्भवे यावद्वृश्चिकदर्शनम् व्यतीपातद्वादश्यादिपर्वणि कार्यः । ध.सि.सुधा १५९÷ध.सि.हेम १८१्
अर्थात् औंसीसम्म श्राद्ध हुनसकेन भने आश्विनशुक्ल पञ्चमीसम्म कुनै एक तिथिमा गर्नू । पञ्चमीसम्म पनि हुनसकेन भने सूर्य वृश्चिक राशिमा नगएसम्म अर्थात् मंसिर महिना नलाग्दै अमावास्या, द्वादशी, अष्टमीतिथि, भरणी नक्षत्र र व्यतीपात योगमध्ये कुनै एक दिनमा श्राद्ध गर्नुपर्दछ । यसबारे अरू वचन पनि छन्- महालये त्वमायावच्छ्रद्धमन्तरितं यदि । शुक्ले तु पञ्चमीं यावद् यस्यां कस्यां तिथावपि ।। सकृन्महालयश्राद्धं गृही कुर्यादशंकया ।।
तत्राप्यसम्भवे– महालये त्वन्तरितेऽमायां द्वादशिकेऽथवा ।
अष्टम्यां वा भरण्यां वा व्यतीपते तथैव च ।।
ऐतेष्वेव हि कालेषु यावद् वृश्चिकदर्शनम् ।
सम्भवे सति यत्पूर्वं तत्र कार्यं प्रयत्नतः ।
अन्यथा चेत्प्रकुर्वीत पितृघातो भवेद् ध्रुवम् ।।
वृश्चिके समतिक्रान्ते पितरो दैवतैः सह ।
निःश्वस्य प्रतिगच्छन्ति शापं दत्वा सुदारुणम् ।। स्मृतिसंगहः।
औंसीसम्म श्राद्ध हुन सकेन भने आश्विन शुक्ल पञ्चमीसम्म कुनै एक तिथिमा श्राद्ध गर्नुपर्दछ । आश्विन शुक्ल पञ्चमीसम्म पनि हुनसकेन भने सूर्य वृश्चिकराशिमा नगएसम्म मंसिर महिना लाग्नुभन्दा अगाडि नै औंसी, द्वादशी, अष्टमी, भरणीनक्षत्र र व्यतीपात योगमध्ये सम्भव भएसम्म जुन पहिले आउँछ त्यसैमा श्राद्ध गर्नुपर्दछ । यसलाई वास्ता नगरी अन्यथा गरेमा पितृघातको प्रायश्चित्त लाग्दछ । महालयको गौणकाल बारे ‘स्मृतिकौस्तुभ’को वचन छ– यावच्च कन्यातुलयोः क्रमादास्ते दिवाकरः । तावच्छ्राद्धस्य कालः स्याच्छून्यं प्रेतपुरं तदा ।। कन्यागते सवितरि पितरोयान्ति वै सुतान् । शून्या प्रेतपुरी सर्वा यावद्वृश्चिकदर्शनम् ।। ततो वृश्चिकसम्प्राप्तौ निराशाः पितरो गताः । ततः स्वभवनं यान्ति शापं दत्वा सुदारुणम् ।।

अर्थात् जबसम्म सूर्य कन्या राशि र तुला राशिमा रहन्छन् अर्थात् आश्विन र कार्तिक महिना भर श्राद्धको काल रहन्छ । त्यसबेला सबै पितृहरू प्रेतपुर (पितृलोक) शून्य पारी आफ्ना छोराका समीपमा जान्छन् र पिण्ड दानादिको आशा गर्दछन् । जबसम्म मंसिर लाग्दैन तबसम्म पुत्रका वरिपरि घुमि नै रहन्छन् । सूर्य वृश्चिक राशिमा गइसकेपछि भने पितृहरू निराश भएर छोराहरूलाई कठोर श्राप दिएर आफ्ना लोकमा जान्छन् भन्ने हो । निर्णयसिन्धुमा अर्को वचन पनि छ-

यावच्च कन्यातुलयोः क्रमादास्ते दिवाकरः । शून्यं प्रेतपुरं तावद् वृश्चिकं यावदागतः ।। वृश्चिके समतिक्रान्ते पितरो दैवतैःसह । निः श्वस्य प्रतिगच्छन्ति शापं दत्वा सुदारुणम् ।। नि.सि.चू.२८९
जबसम्म सूर्य कन्या राशि र तुला राशिमा रहन्छन् तबसम्म पितृलोक शून्य हुन्छ, किनभने पितृहरू सबै आफ्ना छोराका समीपमा जान्छन् । जब सूर्य तुला राशिबाट वृश्चिक राशिमा जान्छन्, तब भने भोक र प्यासले गलित पितृहरू लामो लामो सास फेर्दै छोराहरूलाई कठोर श्राप दिएर देवताहरूसमेत भई आ–आफ्ना लोकमा फर्कन्छन् भन्ने हो । त्यसैले महालय श्राद्धको काल आश्विन र काक्तिक महिनाभरि मात्र हो । त्यसो हुँदा कात्तिक महिनाभित्र अवश्य श्राद्ध गरिसक्नुपर्दछ । आशौचादिका कारणवश कात्तिक महिनाभरमा पनि श्राद्ध हुन सकेन भने के गर्ने त भन्दा ‘स्मृतिकौस्तुभ’को वचन छ ।
वृश्चिकसंक्रमणोत्तरमपि कालविशेषमाह सुमन्तु :
येयं दीपान्विता राजन् ख्याता पञ्चदशी भुवि ।
तस्यां दद्यान्न चेद् दत्तम् पितृणां वै महालये ।। नि.सि.चू.-२८९
अर्थात् मंसिर महिना लागेपछि पनि यदि दीपावली कात्तिक कृष्ण आंैसी लक्ष्मीपूजा प¥यो भने मंसिर महिना भए पनि त्यो औंसीमा महालय श्राद्ध गर्न हुन्छ । अन्यथा मंसिर लागेपछि महालय श्राद्ध कुनै हालतमा गर्न हुँदैन । मंसिर लागेपछि श्राद्ध गर्न नहुने भएपछि श्राद्ध लोप भयो भने के गर्ने भन्नेबारे वचन छ-महालयाकरणेप्रायश्चित्तम्
तदतिकमणे प्रायश्चित्तमुक्तमृग्विधाने-
दुरो अश्वस्य मन्त्रं च दशमासं द्विमासयोः ।
महालयं यदा न्यूनं तदा सम्पूर्णमेति तत् ।।
द्विमासयोः कन्यातुलयोर्महालयश्राद्धं यदा हीनमित्यर्थः ।।
नि.सि.चू.२९७ यदि कन्याराशि र तुलाराशिमा सूर्य रहँदासम्म आश्विन र कात्तिक महिनाभरि कारणवश श्राद्ध हुन सकेन भने ऋग्वेदको यो मन्त्र जप्नुपर्दछ । मन्त्र यसप्रकार छ–ॐ दुरो अश्वस्य दुर इन्द्र गोरसि दुरो यवस्य वसुन इनस्पतिः । शिक्षानरः प्रदिवो अकामकर्शनः सखा सखिभ्यस्तमिदं गृणीमसि ।। ऋग्वेद । नि.सि.चू.–२९७)
यो मन्त्र दशमहिनासम्म प्रत्येक दिन १०८ पटक जप्नुपर्दछ । अर्को वर्षको महालय श्राद्ध नगरेसम्म यो मन्त्र हरेक दिन १०८ जपेपछि मात्र महालयश्राद्ध नगर्दाको प्रायश्चित्त परिहार हुन्छ ।

मातृनवमी, अविधवा नवमी
जीवत्पितृकेण मृतमातृकेणानुपनीतेनापि मात्रादित्रितयमात्रोद्देशेनैकपार्वकं पुरूरवार्द्रवदेवसहितं सपिण्डकं श्राद्धं कार्यम् ।
धर्मसिन्धुः सुधा–१६७÷धर्मसिन्धुः हेमराज–१९२
मातृनवमीमा मातृपितामहीप्रपितामहीका लागि एक, पितृ ब्राहृमण (ऋषि ) र पुरूरवार्द्रवसंज्ञक एक। विश्वेदेव ब्रहृमण (ऋषि) राखेर मातृ पितामही र प्रपितामहीलाई तीन पिण्ड दिएर एकपार्वण श्राद्ध गर्नुपर्दछ । यसलाई मातृनवमीश्राद्ध भनिन्छ । यो श्राद्ध व्रतबन्ध नगरेकाले पनि गर्नुपर्दछ भनिएको छ ।
केचिन्नवम्यां पूर्वमृतमातृश्राद्धं मृते भर्तरि लुप्यते । इति
वचनप्रामाण्यमाश्रित्य पितृमरणोत्तरं न कुर्वन्ति ।
यो मातृनवमी श्राद्ध पिताको मृत्यु भइसकेपछि गर्नुपर्दैन भन्ने कसैको मत छ । स्वमातरि जीवत्यां मृतसापत्नमात्रादित्रयोद्देशेन कार्यम् । आफ्नी आमा जीवित हुँदै सौतिने आमाको मृत्युभएको छ भने पनि ती सौतिने आमा, हजुरआमा र जिजुहजुरआमालाई तीन पिण्ड दिएर श्राद्ध गर्नुपर्दछ । आमा र सौतेनी आमाको मृत्युभएको छ भने द्विवचन प्रयोग गरेर श्राद्ध गर्नुपर्दछ । आमाका साथै धेरैजना सौतिने आमाहरूको मृत्यु भएको छ भने बहुवचन प्रयोग गरेर श्राद्ध गर्नुपर्दछ ।

भर्तुरग्रे सहदाहेन वा मृतानां मातामहीभगिनीदुहितृमातृष्वसृपितृस्वस्रादीनामपुत्राणां पितृमातृकुलोत्पन्नानां सर्वासामेव सौभाग्यवतीनामस्यां नवम्यां श्राद्धं कार्यम् । अतएवास्याअविधवानवमीत्वप्रसिद्धिः । अतः पत्न्याअपि नवमीश्राद्धं कार्यम् ।
पतिभन्दा अगाडि मृत्यु भएका मातामही दिदीबहिनी छोरी सानिमा ठुल्यामा फूपु आदि पितृकुलमा र मातृकुलमा उत्पन्न भएका सबै सधवा अवस्थामा मृत्यु भएका र छोरा नहुने महिलाहरूको पनि एकोद्दिष्ट गणीय अर्को यौटा छुट्टै ब्राहृमण( ऋषि) स्थापना गरेर श्राद्ध गर्नुपर्दछ । सधवा अवस्थामा मृत्यु भएका छोरा नहुने महिलाहरूको श्राद्ध भएकाले यसलाई अविधवानवमी श्राद्ध पनि भनिन्छ । पिता जीवित हुँदै आफ्नी श्रीमतीको मृत्यु भएको तर छोरा र सौतिने छोरा पनि छैनन् भने पत्नीलाई पनि यो श्राद्धमा पिण्ड दिएर श्राद्ध गर्नुपर्दछ ।

श्रीमतीको श्रीमान्ले मातृनवमी श्राद्ध गर्दा एकोद्दिष्ट विधिले गर्नुपर्दछ । ‘मृते भर्तरि लुप्यते’ भन्ने वचनका आधारमा जसजसका पतिहरूको मृत्यु हुन्छ तिनीहरूको यो अविधवा नवमी श्राद्ध नगर्दा हुन्छ । बाबुको मृत्यु भएपछि मातृनवमी श्राद्ध पूरै नगर्दा हुन्छ । ॐ पितृभ्यो नम : ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
1 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?