भैरहवाबाट नेपाल एयरलाइन्सले दिल्ली र मलेसिया उडान गर्ने

Read Time = 3 mins

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँदिल्ली र क्वालालम्पुर सिधा उडानका लागि दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अघि बढाइएको छ । जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कार्य प्रारम्भ गरिएको उहाँको भनाइ छ । दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अघि बढाइएको र बजार मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताउनुभएको छ ।

पौडेलका अनुसार भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेसल टास्कफोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौंबाट भने नियमित उडान गरिरहेको छ । विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रु थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने पनि निगमले जनाएको छ ।

२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको होे । उक्त विमानस्थलबाट बौद्ध धर्मावलम्बीको बाहुल्यता भएका मुलुक श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, लाओसलगायतमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षित हुने अपेक्षा गरिएको थियो । हाल अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान भरिरहेको छ भने हिमालय एयरलायन्सले अघिल्लो वर्ष केही समय चार्टर्ड उडान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?