अपर तामाकोशीको सिइओमा गौतम

Read Time = 2 mins

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मोहनप्रसाद गौतम नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औँ तह (निर्देशक) का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाडड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको चार सय ५६ मेगावाटको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न स्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ ।

नवनियुक्त सिइओ गौतमले कम्पनीले अघि बढाएको २१ मेगावाट रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयलाई फरफारक गर्नेलगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

रोल्वालिङको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोशीको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ । इञ्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । मस्को विश्वविद्यालयबाट इञ्जिनियरिङमा स्नातकोत्तर गौतमसँग जलविद्युत् क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उहाँसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती-१ जलविद्युत् आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षणको अनुभव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?