रुसमा सरकारविरोधी प्रदर्शन

Read Time = 3 mins

मस्को । रुसमा सरकारविरोधी प्रदर्शन सुरु भएको छ । रुस-युक्रेन युद्धमा आंशिक सैनिक परिचालन गर्न सकिने घोषणा गरेसँगै रुसमा सरकारविरोधी प्रदर्शन भएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालैमात्र पश्चिमा मुलुकले रुसलाई सिध्याउन सुरु गरेको षड्यन्त्रलाई विफल पार्न आंशिक सैनिक परिचालन गर्न सकिने घोषणा गर्नुभएको थियो ।

आंशिक सैनिक परिचालन भन्नाले रुसी सैनिकले रिजर्भमा राखेका र पहिला सैनिक रहिसकेका व्यक्तिलाई पुनः युद्धमा परिचालन गरिनु हो । पुटिनको उक्त घोषणाको केही समयपछि रुसी रक्षामन्त्री सर्गेई शोइगुले तीन लाख रुसी नागरिकलाई आंशिक सैन्य परिचालनमा बोलाइनसक्ने बताउनुभएको थियो ।

पुटिनको उक्त घोषणासँगै रुसमा प्रदर्शन सुरु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनका अनुसार देशका अन्य स्थानमा भन्दा मस्को र सेन्ट पिटसबर्गमा प्रदर्शन व्यापक बनेको छ । पछिल्लो समयसम्म एक हजार तीन मानिसलाई प्रहरीले पक्राउ गरेको एजेन्सीले उल्लेख गरेका छन् । मस्को र सेन्ट पिटसबर्गमा सबैभन्दा धेरै मानिस पक्राउ परेका छन् । त्यसका साथै प्रहरीले साइबेरियाली शहर इरकुत्स्क र याकातेरिबर्गमा पनि दर्जनभन्दा धेरै मानिसलाई पक्राउ गरेको छ ।

पुटिनको घोषणासँगै रुस छाड्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । युक्रेनसँगको युद्धको विषयमा दुष्प्रचार गरे कडाभन्दा कडा सजाय भोग्नुपर्ने प्रावधान तथा पुटिनविरोधी मानिसहरूलाई प्रहरीले दिने गरेको यातनाको कारण सार्वजनिक रूपमा रुसमा यस्तो विरोध दुर्लभ मानिन्छ । रुस र युक्रेनबीच विगत सात महिनादेखि युद्ध चलिरहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?