पूर्वमन्त्री झाँक्रीद्वारा रेसुंगा सभाहलको शिलान्यास

Read Time = 4 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका अर्खलेमा रेसुंगा सभाहलको शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गर्नुभएको हो । सभाहलको शिलान्यास गर्दै पूर्व मन्त्री झाँक्रीले व्यवस्थित आयोजनाले समाजको जिवनस्तर नै परिवर्तन गर्न सक्ने बताउनुभयो ।

“विकासले मान्छेको जीवन फेर्ने गरि काम गर्नुपर्छ । शिलान्यास महत्वपूर्ण नभएर निर्माण र उपयोगिता खोज्नुपर्छ ।” उहाँले भन्नुभयो, “सभाहल निर्माण सञ्चालन भए आर्थिक गतिविधिको केन्द्रका लागि बाटाहरु खुल्न सक्छन् ।” त्यस्तै, उहाँले प्रशासनले निर्माण व्यवसायीलाई बोलाएर योजनाको काममा गति दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । निर्माण व्यवसायीले ठेक्का हात पारेर काम नगर्दा धेरै योजनाहरु अलपत्र परेको बताउनुभयो ।

रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले दुःखले पारेका योजनाहरुलाई निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरिदाँ जनप्रतिनिधि र स्वयम् निर्माण व्यवसायीप्रति पनि अविश्वास सिर्जना हुने बताउनुभयो । “यस जिल्लामा पनि थुप्रै सडक, भवन, पुल अलपत्र छन् ।” उहाँले भन्नुभयो, “दुःख गरेर ल्याएको बजेट सदुपयोग नहुँदा समस्या भएको छ ।” निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्नको लागि सबैले दबाब दिनुपर्ने उल्लेख गर्नुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई रूपन्देहीका आयोजना प्रमुख रमेश थिङ्गले सभाहलको प्राविधिक विषयमा जानकारी दिनुभयो । उहाँका अनुसार सभाहल भ्याट र कन्टेन्जेन्सीसहित २० करोड ४२ लाख ९७ हजार एक सय ९६ रुपैयाँमा निर्माण हुँदै छ । जसका लागि गत जेठ १२ मा बोलपत्र आह्वान भएको थियो ।

दुईतले, भूकम्प प्रतिरोधी, भिआइपी रुम, आगो र भूकम्प प्रतिरोधात्मक, फाउन्टेन, गार्डेन र पार्किङ सुविधासहितको दुईवटा हलसहितको आधुनिक सभाहल हुनेछ । एकातिर एक सय आठजनाको बहुउद्देश्यीय र चार सय ३२ जनाको क्षमतासहितको मुख्य हल अर्कोतर्फ निर्माण हुने छ । निर्माण व्यवसायीले सम्झौता गरेको दुई वर्षमा सभाहल निर्माण हुने बताइएको छ ।

सहसचिव रामचन्द्र दंगाल एवम् गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सभाहल जिल्लाकै समृद्धिको प्रतीक हुने बताउनुभयो । एक दिन पनि ढिला नगरि काम गरेर प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?