कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखामा विवाद, पदस्थापनमा काखा पाखा गरिएको आरोप

हिमालय टाइम्स
Read Time = 7 mins

-संजीव कुमार मिश्रा
बारा । कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखामा विवाद देखिएको छ । स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुको पदस्थापनमा काखा पाखा गरिएको आरोप कर्मचारीहरुले लगाएका छन् ।

स्वास्थ्य शाखाका संयोजक तथा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले आर्थिक प्रलोभनमा परि एक जनालाई पदस्थापन गरेको र अरु कर्मचारीहरुलाई पाखा लगाएको कलैया उपमहानगरपालिका-२० को स्वास्थ्य चौकीमा कार्यरत शिवशंक प्रसाद कुशवाहाले आरोप लगाउनु भयाे ।

मन्त्रालयबाट पदस्थापन समायोजनको लागि पत्र आएपनि पटक-पटक लिखित तथा मौखिक रुपमा संयोजक जयसवाललाई भन्दा समेत कुनै सुनुवाई नगरेको उहाँले बताउनुभयो । जयसवाल शाखा संयोजक भएर आए देखि नै शाखाको अवस्था दयनिय बन्दै गएको उहाँकाे आरोप छ ।

शाखा अधिकृत जयसवाल विवाद र अनियमिततामा मुछिदै आएका छन्, उहाँले भन्नुभयो‘ उनी आफूले पाएको अधिकारको दुरुपयोग गर्दै एक जना महिला कर्मचारी संगीता साहलाई पदस्थापन गरेका छन् । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ अनुसार सरकारी सेवा शुरु गरेको तहबाट उपल्लो तहमा तह वृद्धि हुने कुरा उल्लेख गरिएको छ, स्वास्थ्य कर्मचारी कुशवाहाले भन्नुभयो,‘सोही ऐनको दफा ९(ख) अनुसार तह वृद्धि भएका कर्मचारीहरुको पदस्थापन गर्ने भनिएको छ । स्वास्थ्य सेवा स्थानीय तहमा हस्तान्तरण गरि सकेपछि अर्को व्यवस्था नहुन्जेलसम्म स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ अनुसार नै कर्मचारीहरुको खटन पटन र पदस्थापन, सरुवा हुने प्रावधान भएपनि निज संयोजक जयसवालले गुपचुप तरीकाले च.नं. ६०२४ मिति २०७८ असार १० गतेका दिन छैठौ अधिकृत तहमा साहलाई मात्र पदस्थापन गरेको रहस्य खुलेको छ । विभिन्न स्वास्थ्य चौकीमा कार्यरत हामी जस्ता कर्मचारीहरुलाई पाखा लगाई एक जनालाई पदस्थापन गर्नुले समेत यसमा आर्थिक अनियमितता भएको उहाँकाे जिकिर छ ।’

कलैया उपमहानगरपालिकाको विभिन्न स्वास्थ्य चौकीमा कार्यरत छैठो तहका युसुफ आजाद अंसारी, शैलेश महतो, सनोज जयसवाल, श्याम यादव, विनिता यादव, अनिल यादव, रुस्तम अंसारी र पाँचौ तहका शिवशंकर कुश्वाहा, राधेश्याम प्रसाद, ऋषि साह कानु, नन्दकिशोर जयसवाल, अवधकिशोर साह, राकेश चौधरी, रेखा कलवार, मंजुलत्ता कुशवाहा लगायतका कर्मचारीहरुले वर्षौ देखि संयोजक जयसवाललाई लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा समेत पदस्थापन नगरेको आरोप छ ।

हामीले पटक पटक अनुरोध गर्दा समेत पदस्थापन गरिएन तर कसैलाई थाहै नदिई १ जनालाई मात्र पदस्थापन गर्नुले जयसवाल आर्थिक अनियमिततामा परि एक जनालाई मात्र पदस्थापन गरेको उहाँहरुले आरोप लगाउनु भयाे ।

कार्यालय खुल्ने वितिकै आफ्नाे  पदस्थापन हुनु पर्ने उहाँहरुकाे माग छ । आफ्नाे माग सम्बोधन नभए आफुहरु आन्दोलन गर्न बाध्य हुने उहाँहरुले बताउनुभयाे । जयसवालले पाएको अख्तियारीको दुरुपयोग गरेकोले नेपाल स्वास्थ्य सेवा ऐन नियमावली र निजामति सेवा ऐन बमोजिम कारवाही गर्नको लागि नगरप्रमुख साहसँग अनुरोध गर्ने उहाँले चेतावनी दिनु भएको छ ।

'तहको कुरा मात्र होइन कलैया उपमहानगरपालिका स्वास्थ्य शाखाले हामीमाथि हैकमवादी र शासक जस्तो व्यवहार गर्दै आएको उहाँहरुले आरोप लगाउनु भयाे । हामीले स्वतन्त्रपूर्वक काम समेत गर्न पाएका छैनौ । नयाँ नगरप्रमुखले समयमै समस्याको समाधान गर्नुहुने बारे हामी विश्वस्त छौ । समस्या समाधान नभए हामी कानूनी बाटो अपनाउन बाध्य हुनेछाै,' कुशवाहाले  भन्नुभयाे ।

स्वास्थ्य शाखा संयोजक जयसवालले अधिकार दुरुपयोग गरि पदस्थापन गरेको कलैया उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष रामबाबु कुशवाहाले बताउनुभयो । पटक-पटक उनी विभिन्न भ्रष्ट काममा मुछिदै आएका छन् उहाँले भन्नुभयो, ‘उनी स्वास्थ्य शाखामा आए देखि शाखाको अवस्था दयनिय बनेको छ । उनि आए देखि नै स्वास्थ्य शाखालाई बदनाम गराउने काम मात्र गर्दै आएको उनिहरुकाे आराेप छ ।

एक जनाको पदस्थापन हुँदा समेत नगरप्रमुख विनोद प्रसाद साह तथा प्रमुख प्रशासकीय अधिकृत नाथु साह मौन देखिएको उहाँले आरोप लगाउनुभयो ।

कलैया उपमहानगरपालिकाका स्वास्थ्य संयोजक तथा शाखा अधिकृत प्रेमचन्द्र जयसवालले आफूले कसैमाथि काखापाखा नगरेको जानकारी दिनु भयाे । हामीले सबैको पदस्थापन गर्न खोजेका हौ, तर कार्य व्यस्तताले हुन नसकेको जयसवालले बताउनुभयाे । अफिस खुलेपछि सबैको चित्त बुझने गरी पदस्थापन हुने जयसवालकाे भनाई छ ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साहले पदस्थापनको बारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो । यसबारेमा आफू कहाँ पनि गुनासो आएको तर अफिस बन्द रहेको कारण अहिले केही भन्न नसकिने जानकारी दिनुभयो । अफिस खुलेपछि यसको बारेमा छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?