सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धनका नेताहरू आज पनि बैठक बसेका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेबाट जारी छ ।

गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्। एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतले जनाएको छ ।

जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ।

यसअघि टीकाको दिन सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमै बसेको शीर्ष नेताको बैठक बिना निश्कर्ष टुंगिएको थियो ।

साउन २० गतेबाट नियमित जसो छलफल हुँदा पनि गठबन्धनमा आवद्ध दलहरूबीच केही सिटमा सहमति जुट्न सकेको छैन ।

कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले दुई सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।

यस्तै प्रदेशसभाको सिट बाँडफाँट पनि पेचिलो देखिएको छ । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि सहमतिमा पुग्न कठिन भएको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?