फ्रान्सकी साहित्यकार एर्नोलाई यस वर्षको नोबेल साहित्य पुरस्कार

Read Time = 6 mins

स्टकहोम । यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ । त्यसैका लागि उहाँले नोबेल साहित्य पुरस्कार पाउनुभएको हो । उहाँले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्नुहुन्छ । एर्नोले व्यावसासायिक लेखन थाल्नुपहिले शिक्षिकाका रूपमा काम गर्नुभएको थियो ।

उहाँका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’लगायत पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन् । नोबेल पुरस्कार कमिटीका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताएको र उहाँको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताउनुभएको छ ।

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर बराबरको रहेको छ । गत वर्षको नोबेल साहित्य पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाउनुभएको थियो ।

यो वर्षको नोबेल शान्ति पुरस्कार तीन जनालाई
यो वर्षको नोबेल शान्ति पुरस्कार तीनजनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पूर्वी युरोपका एक अभियन्ता र दुई संगठनहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । बेलारुसी मानव अधिकारकर्मी एलियास बिलियाट्स्की, युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीज र रुसी मानव अधिकार संगठन मेमोरियललाई उक्त पुरस्कार दिइने भएको हो ।

शुक्रबार नर्वेको नोबेल शान्ति पुरस्कार समितिले संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । आगामी १० डिसेम्बरमा एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिनेछ । बिलिया ट्स्कीले बेलारुसमा प्रजातन्त्र र शान्तिपूर्ण विकासको प्रवद्र्धनमा आफ्नो जीवन समर्पण गर्नुभएको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।

त्यस्तै, अर्को पुरस्कृत संस्था सेन्टर फर सिभिल लिबर्टीज (सिजिएस) युक्रेनका अग्रणी मानव अधिकार संगठनमध्ये एक हो । यसको स्थपना सन् २००७ मा भएको हो । पुरस्कृत भएपछि आफूले गौरब महसुस गरेको सिजिएसले एक ट्वीटमा जनाएको छ ।
त्यस्तै, रुसकै सबैभन्दा पुरानो मानव अधिकार समूह मेमोरियलले पनि पुरस्कार पाउने भएको छ । मेमोरियलले करिब तीन दशकसम्म सोभियत कालमा मारिएका, कारागारमा राखिएका वा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याएको थियो । मेमोरियल यसै वर्षको सुरुमा बन्द भएको थियो । गत वर्ष अदालतको एक आदेशपछि मोरियल बन्द भएको थियो ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
यस्तै, यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरू क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र व्यारी शार्पलेशलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि तीन वैज्ञानिकलाई उक्त पुरस्कार दिइनेभएको नोबेल समितिले जनाएको छ । तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् आठ लाख पाउण्ड बराबरको पुरस्कार रकम बाँडेर लिनुहुनेछ ।

पुरस्कृतमध्ये ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रोपटक हो । यसअघि उहाँले सन् २००१ मा नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो । गत वर्षको रसायनतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?