लागुऔषधसहित १२ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धुनीबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुरको ललितपुर महानगरपालिका-१५ बोधिग्रामबाट अवैध लागूऔषध गाँजा ५ केजी ७ सय ६० ग्राम, गाँजाको फुलपातसहित ९ सय १२ ग्राम, पोल्याण्डको धुलो १ किलो ८ सय २० ग्राम, चरेस जस्तो देखिने पदार्थ १ सय ८० ग्राम र नगद २२ हजार ५ सय ९५ रूपैयाँसहित गोरखा थालाजुङ गाउँपालिका घर भई काठमाडौं काडाघारी बस्ने ४० वर्षीया शान्ति रानामगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको, दमक नगरपालिका-८ डाँफे चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका-४ बस्ने ३६ वर्षीय टेकेन्द्र कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-४ सिद्रिपुर बस्ने ४५ वर्षीय दान बहादुर मल्ललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-२ बस्ने २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका-३ बस्ने २४ वर्षीय मुकेश कुँवर रहेका छन् ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय  धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  साथै उनीहरूको साथबाट  सु.प.प्र.०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

कैलाली, टिकापुर नगरपालिका-६ बेलुवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २९ वर्षीय बिशाल ज्ञवाली र सोही ठाउँ बस्ने २६ वर्षीय रोशन सुनार रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, लौरी नगरपालिका-४ लक्ष्मीस्विट चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ६० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने १८/१८ वर्षीय दुई जना किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, कञ्चनरुप नगरपालिका-७ बालुवा टोल बस्ने ४० वर्षीय उमेश साहलाई अवैध लागूऔषध गाँजा जस्तो पदार्थ १६ किलो ९ सय ३० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?