एकीकृत समाजवादीले भन्यो : गठबन्धनमा बस्नुको औचित्य छैन

हिमालय टाइम्स
Read Time = 4 mins

नुवाकोट । नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनमा आवद्ध दलबीच किचलो बढेको बढेको छ ।

गठबन्धनबीच भागबण्डामा समाजवादीले जिल्लाका प्रतिनिधिसभमा दुई प्रदेशसभाका चार सिटमध्ये एउटा प्रदेशसभा पाउने सहमति केन्द्रमा भएको थियो । तर, उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र माओवादीले माथिको सहमति लत्याउँदै उम्मेदवारी दर्ता गराएपछि विवाद बढेको हो ।

तीन दलबीचको समझदारीअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–२ क समाजवादीको भागमा परेको थियो । समाजवादीले पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस–माओवादीले माथिको निर्णय उल्ट्याएको भन्दै समाजवादीबाट लोहनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेस र माओवादीको सहमतिअनुसार रामप्रसाद ढुंगानाले सोही क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको छ ।

उम्मेदवारी मनोनयनको केही घण्टाअघि मात्र आइतबार कांग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरी समाजवादीको टिकट खोसेका हुन् ।

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको क मा समाजवादी र ख मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा काँग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् ।

प्रदेश क मा समाजवादीबाट लोहनी र ख मा माओवादीबाट राममाया बोगटीले टिकट पाइसक्नुभएको थियो । अन्तिम समयमा आएर दुई दलले प्रदेशसभाको क्षेत्र साटफेर गरी आफ्नो दललाई प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै क्षेत्रमा प्रतिनिधित्वविहीन बनाउन खोजेको भन्दै समाजवादीले गठबन्धन तोडेने चेतावनी दिएको छ ।

समाजवादीको भागमा परेकोे प्रदेश क मा माओवादीबाट ढुंगाना र माओवादीले पाउने भनिएको प्रदेश ख मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिनुभएको छ ।

समाजवादीका जिल्ला इन्चार्जसमेत रहनुभएका राजेन्द्रप्रकाश लोहनीले आफूहरु गठबन्धनमा बस्नुको औचित्य नभएको बताउनु भयो । माओवादीले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोड्नेबारे शीर्ष नेतृत्वसँग कुराकानी गरिरहेको उहाँले भन्नुभयो । ‘हामीले केही नपाउने र कांग्रेस र माओवादीलाई जिताइदिनुपर्ने हो भने गठबन्धनमा रहनुको अर्थ नै के रह्यो र ?,’ उहाँले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?