लमजुङमा दुई गुरुङबीच रोमाञ्चक प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 7 mins

लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेभिवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने हुनुभएको छ ।

देव गुरुङले मनाङ र कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोज्नुभयो । ०७४ को निर्वाचनमा उहाँ यहीँबाट विजयी हुनुभएको थियो । त्यतिबेला एमाले-माओवादी गठबन्धनको साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्नुभएका उहाँले सानदार मतले चुनाव जित्नुभएको थियो । जन्मथलो मनाङ भएर पनि उहाँले कर्मथलोका रूपमा लमजुङलाई रोज्नुभएको छ ।

यसपालि पृथ्वीसुब्बा गुरूङको चाहना प्रतिनिधिसभाको उम्मेदवार बन्ने पटक्कै थिएन । ०७४ को प्रदेशसभा निर्वाचनमा लमजुङ ‘ख’ बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने सौभाग्य पाउनुभएका उहाँले पूरा कार्यकाल काम गर्न पाउनुभएन । साढे तीन वर्ष नबित्दै उहाँले पद गुमाउनुभयो । यसपालि पुनः लमजुङ प्रदेश ‘ख’ बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उहाँको सपना थियो । उहाँले प्रचारप्रसार पनि थालिसक्नुभएको थियो ।

लमजुङमा आयोजना हुने विभिन्न कार्यक्रममा उहाँले भन्ने गर्नुभएको थियो, ‘मैले सुरू गरेका थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेशसभाको निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।’

सोचेजस्तो सधैं कहाँ हुन्छ र ? पृथ्वीसुब्बाको हकमा पनि त्यस्तै भयो । फिटिक्कै चाहना नहुँदा पनि उहाँलाई प्रतिनिधिसभाको उम्मेदवार बनायो पार्टीले । पछिल्लो समय गुरूङभन्दा पनि ओलीको नजिक बन्नुभएका खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेशसभाको टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाको उम्मेदवार बन्न पुग्नुभएको छ ।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एकअर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीको कोपभाजनमा पर्नुभएका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा हुनुहुन्छ । लमजुङ प्रदेश ‘ख’ पृथ्वीसुब्बाका लागि सहज थियो तर प्रतिनिधिसभाको निर्वाचन उहाँका लागि फलामको च्युरा चपाउनुसरह मानिएको छ ।

प्रदेश सभा ‘ख’ उहाँको आफ्नै क्षेत्र हो, क्व्होंलासोंथार उहाँको गृह गाउँपालिका हो, जहाँ उहाँको पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेको छ । यसबाहेक मस्र्याङ्दी गाउँपालिका, बेंसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका उहाँका प्रभाव क्षेत्र हुन् । बरू उहाँलाई भन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाको निर्वाचन लड्न सहज थियो । उहाँको चाहना पनि त्यही थियो तर घलेले प्रदेशसभा ‘क’ को टिकट पाउनुभएको छ ।

देव गुरुङलाई पनि कांग्रेसको भर हो । कांग्रेसका मतदाताले उहाँलाई कत्तिको साथ दिन्छन्, त्यो हेर्न चुनावसम्मै कुर्नुपर्छ । यद्यपि पछिल्लो समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएको स्थानीय निर्वाचनले पनि यही संकेत गरेको छ । यसको फाइदा उहाँलाई हुने सम्भावना छ ।
देव गुरुङ योसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ । पहिलो संविधानसभाको निर्वाचनमा उहाँ माओवादी उम्मेदवारका रूपमा कास्की र मनाङबाट निर्वाचित हुनुभएको थियो । २०७४ को चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारका रूपमा उहाँ लमजुङबाट निर्वाचित हुनुभएको थियो ।

पृथ्वीसुब्बा गुरुङको यो सातौं निर्वाचन हो । २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लड्नुभएका उहाँ त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आउनुभएको छ । २०४८, २०५१, २०५६ को निर्वाचनमा पराजय भोग्नुभएका उहाँले ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा चुनाव जित्नुभयोे । ०६३ को जनआन्दोलनपछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला उहाँलाई चुनाव जित्न पनि सहज भयो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा फेरि पराजित हुनुभएका उहाँ ०७४ को प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट लमजुङ ‘ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पाउनुभयो ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र सिट छ । प्रदेशसभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको छ । तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेको छ । स्थानीय निर्वाचनको नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?