कर्णाली प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, ४८० घरपरिवार विस्थापित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाले पश्चिम नेपालमा ठूलो जनधनको क्षति गरेको छ । लगातारको वर्षाले कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले जनधनको क्षति गरेको हो । कर्णाली प्रदेशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीनको मृत्यु भएको छ । डोल्पा र सल्यानमा दुई/दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

२२ जना अझै बेपत्ता
प्रहरी प्रवक्ता श्रेष्ठले २२ जना अझै बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको बताउनुभयो । बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० छन् । जुम्लाका दुई र दैलेखका एकजना छन् । बाढीपहिरोमा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्यांकमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सातजना छन् भने मुगु र हुम्लाका पाँच÷पाँचजना घाइते भएका छन् । जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एकजना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सयौँ घरपरिवार विस्थाापित
लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर ४८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै दैलेखमा १०३ घर परिवार विस्थापित भएका छन् । मुगुका १७८ घर परिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ घरपरिवार विस्थापित भएका हुन् । यस्तै, डोल्पाका चार घरपरिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका दुई/दुई घरपरिवार विस्थापित भएका छन् ।

उद्दारमा नेपाली सेना
केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी÷पहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्दार गरिरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको भजनी नगरपालिका-३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री वितरण गरिएको छ ।

बाँकेमा हजारौं हेक्टर धान बालीमा क्षति
केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये सात हजार ४६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । पछिलो समयसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ३६५ हेक्टर, नरैनापुर गाउँपालिकामा ३८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार ६५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार ४६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिनुभयो ।

त्यस्तै, वैजानाथ गाउँपालिकामा ८३० हेक्टर, कोहलपुर नगरपालिकामा ७३० हेक्टर र जानकी गाउँपालिकामा ९५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ । बाँकेमा कुल खेतीयोग्य जमिन ३५ हजार हेक्टर रहेको छ ।

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने
लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालिकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुँदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । कर्णाली राजमार्गको कालिकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?