मदिरा र गाडी आयात खुलाउन माग

फाइल तस्बिर

Read Time = 3 mins

काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले कार, जिप, भ्यान, मोबाइल, मोटरसाइकल र तयारी मदिरा आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । प्रतिबन्ध लगाइएका सवारीसाधन र मोटरसाइकलबाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको भन्दै बाँकी चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन संघले माग गरेको हो । संघका अनुसार बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन भने अर्कातर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये छ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार, जिप, भ्यान, मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिरा आयातमा प्रतिबन्ध अझै कायमै छ । नेपाल राष्ट्र बैंकले महँगी नियन्त्रण गर्न भन्दै मुद्रा प्रदायलाई कसिलो बनाउँदै ब्याजदर बढाउने नीति लिएको छ तर महँगी नेपालको आन्तरिक कारणले नभई बाहृय कारणले भएको भन्दै संघले राष्ट्र« बैंकको कदमले ब्याजदर बढ्दा व्यवसाय सञ्चालन निकै कठिन भएको जनाएको छ ।

बैंकिङ कारोबार गर्ने सहकारी क्षेत्रमा विकृति बढेको र एकपछि अर्को बचत तथा ऋणको कारोबार गर्ने सहकारी समस्याग्रस्त बनेकाले सर्वसाधारणको अर्बौं रुपैयाँ डुबेका खबर बारम्बार सार्वजनिक भइरहेका सन्दर्भमा बैंकिङ कारोबार गर्ने सहकारीसमेत नेपाल राष्ट्र बैंकले अनुगमन गर्ने र सहकारीले अनौपचारिक तवरमा गर्ने बैंकिङ कारोबारलाई औपचारिक दायरामा ल्याउने पहल गर्न ढिला भइसकेको संघको भनाइ छ ।

संघद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लघुवित्त कम्पनीहरूले निश्चित सीमाभन्दा बढी ऋण लगानी गर्न नपाउने प्रावधान छ । जसले गर्दा लघु, साना तथा मझौला उद्यम, व्यवसायले पर्याप्तमात्रामा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सकेका छैनन्, जबकि मुलुकको समुन्नति र प्रगतिमा लघु, साना तथा मझौला उद्यम व्यवसायकै भूमिका सबैभन्दा ठूलो हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?