अन्तिममा फेरि सर्‍यो नेपाल टी-२० लिग

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अन्तिम समयमा आएर नेपाल टी-२० क्रिकेट लिग सरेको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले विदेशी खेलाडीको श्रम स्वीकृतिलाई देखाउँदै पुनः शुक्रबारबाट सुरु हुन नसक्ने जनाएको हो । यो प्रतियोगिता सरेको तेस्रो पटक हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता शुक्रबारदेखि सुरु नहुने बताउनुभयो । अब कहिलेबाट प्रतियोगिता सुरु हुनेसमेत अनिश्चित बनेको छ ।
‘विदेशी खेलाडीको श्रम स्वीकृति नटुंगिएकाले नेपाल टी-२० लिग एक-दुई दिन तलमाथि हुन्छ । शुक्रबारबाट हुँदैन,’ चन्दले हिमालय टाइम्ससँग भन्नुभयो, ‘विदेशी खेलाडीको कागजी प्रक्रियाका कारण रोकिएको हो । श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको छ ।’

श्रम स्वीकृति नपाएका कारण विभिन्न टोलीका कयौं खेलाडी आउन नसकेको उहाँले जनाउनुभयो । यदि एक-दुई दिनको समयमा पनि प्रतियोगिता हुन नसके कमर्सियल तथा आयोजना जिम्मा लिएको सेभेन थ्री स्पोट्र्ससँग सम्झौता नै रद्द गर्ने चन्दले चेतावनी दिनुभयो ।
‘कागजात अपुग भएको कारणले खेलाडीको श्रम स्वीकृतिको काम ढिलाइ भएको हो । कसैले रोकेको भन्न मिलेन । किनभने विदेशी खेलाडी धेरै परिवर्तन भएका कारण उनीहरूको काम हुन ढिला भएको हो,’ चन्दले भन्नुभयो, ‘हामीले सबै खेलाडीको श्रमको काम एकमुष्ट गर्ने भनेर बसेका हौँ । हामी जसरी हुन्छ क्रिकेट सफलतापूर्वक सम्पन्न गराउन भनेर लागेका छौँ ।’

यसअघि पहिलोपटक डबल राउण्ड रोबिन लिगका आधारमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स आमनेसामने हुने तालिका रहेको थियो ।

यसअघि नेपालमा निजीस्तरबाट तीनवटा फ्रेन्चाइजी क्रिकेट लिग हुने गर्थे । तर, निलम्बन फुकुवा भएसँगै नेपाल क्रिकेट संघ(क्यान)ले आधिकारिक लिगका रूपमा नेपाल टी-२० क्रिकेट लिगलाई अघि सारेको हो । प्रतियोगितामा ६ शहरका ६ टोली भिड्दैछन् ।
प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागिता रहेको छ । कुल ३४ खेल हुनेछन् । सबै टोलीले खेलाडी ड्राफ्टबाट लिइसकेका छन् । विदेशी खेलाडी पनि भित्र्याइसकेका छन् ।

प्रतियोगितामा ‘ए’ ग्रेडमा रहेका खेलाडीले १५ लाख, ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले पाँच लाख रुपैयाँ न्यूनतम पाउनेछन् । त्यसबाहेक विदेशी खेलाडीहरूलाई उनीहरूको सम्झौताअनुसारको रकम मिल्नेछ ।

दुई साताअघि यसअघि आबद्ध टोली काठमाडौं गोर्खाजले प्रतियोगिताबाट हात झिकेपछि लिग नै अन्योलमा परेको थियो । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले लिगमा कानुनी उल्झन रहेको भन्दै नाम फिर्ता लिएको थियो । त्यसको ठाउँमा क्यानले नयाँ व्यवस्थापनसँगै काठमाडौं नाइट्स टोलीको घोषणा गरेपछि प्रतियोगिता सञ्चालनमा आउने भएको हो ।

यसअघि काठमाडौंमा हुँदै आएको एभरेष्ट प्रिमियर लिग (इपिएल)ले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुनविपरीत रहेको र यो प्रक्रिया पारदर्शी नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । उसले भारतीय कम्पनीलाई बिनाप्रतिस्पर्धा आयोजनाको अधिकार दिने निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) गर्न मागसमेत गरेको छ । क्यानले बिना खुला प्रतिस्पर्धा सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० लिग आयोजना अधिकार आठ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?