पटक-पटक चुनाव हार्नेलाई नै टिकट

हिमालय टाइम्स
Read Time = 5 mins

बागलुङ । पटक-पटक चुनाव हारेर पनि टिकट पाई राख्ने भाग्यमानी नेतामा पर्नु हुन्छ बागलुङ कांग्रेसका सभापति जितबहादुर शेरचन । २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ (ख) बाट पराजित हुनुभएका नेता शेरचनले २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लड्नु भएको थियो । तर विजयी हुन सक्नु भएन ।

अहिले पनि आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र फेरेर बागलुङ क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दिनु भएको छ । शेरचन २०७४ मा भएको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती मगरसँग पराजित हुनु भएको थियो । घर्ती तीन हजार २२१ मतान्तरले विजयी हुनु भएको थियो । घर्तीले ११ हजार ८८४ मत प्राप्त गर्दा शेरचनले आठ हजार ६६४ मत प्राप्त गर्नु भएको थियो । यस बेला घर्ती बामगठबन्धनका संयुक्त उम्मेदवार हुनुहुन्थ्यो ।

घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा २०७६ मा उपचुनाव भएको थियो । उपनिर्वाचनमा पनि शेरचनलाई नेपाली कांग्रेसले टिकट दिएको थियो । त्यसबेला पनि शेरचन बामगठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीसँग २०९७ मत अन्तरले पराजित हुनु भएको थियो ।

शाहीले ११ हजार २३५ मत प्राप्त गर्दा शेरचनले नौ हजार १३८ मत प्राप्त गर्नु भएको थियो । पार्टीमा लामो समयदेखि योगदान दिँदै आएका अन्य नेताहरुले टिकट नपाएर असन्तुष्टि भएको अवस्थामा पटक–पटक चुनाव हारेका नेतालाई उम्मेदवार बनाउँदा पार्टीमा समस्या आइरहेको कांग्रेस बागलुङका एक नेताले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो- “पटक-पटक एउटैले टिकट पाउँछ, जीत हाँसिल गर्दैन, यसले गर्दा पार्टीमा ठूलो योगदान गरेका नेताहरुले अवसर पाउनु भएको छैन, अन्य कार्यकता पनि विचलित भएर अर्को पार्टीमा जाने भई रहेको छ, पार्टी नेतृत्वले यस तर्फ ध्यान दिन सकेन, यसको परिणाम भविष्यमा पनि राम्रो आउन सक्दैन ।”

शेरचन यसपालीको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ (ख) छोडेर (क) मा आउनु भएको छ । यो निर्वाचनमा पनि उहाँलाई चुनाव जित्न त्यत्ति सहज नभएको स्थानीय नेता बताउँछन् । शेरचन स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । घर्ती ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष हुनुहुन्छ । उहाँ माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो ।

स्थानीय तहको निर्वाचन २०७९ मा माओवादी केन्द्रले टिकट नदिएपछि उहाँ स्वतन्त्र रुपमा चुनाव लड्नु भएको थियो । अहिलेको निर्वाचनमा घर्तीलाई नेकपा एमालेले सघाएको छ । उहाँलाई ताराखोला गाउँपालिकाबाट माओवादी केन्द्रको मत बढी आउन सक्ने धेरैले आँकलन गरेका छन् । यसको असर शेरचनलाई पर्ने देखिन्छ ।

तीन पालिका रहेको बागलुङ क्षेत्र नम्बर २ (क) मा गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका छन् । ताराखोला गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष छन् भने गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा कांग्रेसबाट प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् । घर्तीले गठबन्धनका दलबाट जनमोर्चा र माओवादी केन्द्रको बढी मत काट्न सक्ने हुँदा शेरचनलाई जित हाँसिल गर्न त्यत्ति सहज नहुने नेता कार्यकर्ताको आँकलन छ ।

कृष्णप्रसाद सिटौला निकट मानिने शेरचन कांग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङ कांग्रेसको सभापतिमा निर्वाचित हुनु भएको हो । पार्टी सभापति भएपछि संगठन निर्माण धेरै चासो नदिएको नेता कार्यकर्ताको आरोप पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?