दैलेखको थापा गाउँमा पुग्यो पानी, स्थानीय हर्षित

हिमालय टाइम्स
Read Time = 3 mins

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिका-४ थापा गाउँमा खानेपानीको समस्या समाधान भएको छ । सोसेक नेपालको अगुवाइमा खानेपानी योजना निर्माण भएपछि थापा गाउँको खानेपानी समस्या समाधान भएको हो । हेल्भेटास नेपाल र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम र डुंगेश्वर गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजीकरणमा थापा गाउँमा खानेपानी सुविधा पुगेको हो ।

योजनाको कुल लागत २६ लाख १९ हजार तीन सय रुपैयाँ रहेको सोसेक नेपालका फिल्ड प्राविधिक जयबहादुर विष्टले जानकारी दिनुभयो । हालै निर्माण सम्पन्न थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाबाट गाउँका ३४ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । फिल्ड प्राविधिक विष्टका अनुसार ३४ घरधुरीका लागि घरैपिच्छे खानेपानीको धारा जडान भएको छ ।

योजना निर्माणसँगै थापा गाउँमा सरसफाइका विभिन्न गतिविधिसमेत सञ्चालन भइरहेको छ । हरेक घरमा फोहोर फाल्ने खाडल र चाङ निर्माण गरिएको थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष गोविन्दबहादुर थापाले बताउनुभयो । योजनाबाट लाभान्वित ३४ घरधुरीलाई फिल्टरसमेत वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ ।

खानेपानी योजना निर्माण हुनुअघि थापा गाउँका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका थिए । योजनाका कोषाध्यक्षसमेत रहनुभएकी रेखा थापाले योजना निर्माण सम्पन्न भएपछि खानेपानीको समस्या समाधान भएको बताउनुभयो । ‘योजना निर्माण हुनुअघि फोहोर पानी प्रयोग गर्नुपथ्र्यो, टाढा-टाढाबाट खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो, चैत वैशाखमा त खानेपानीको हाहाकार हुन्थ्यो,’ उहाँले भन्नुभयो । एक घर एक धारा निर्माण भएपछि खानेपानीको सबै समस्या हटेर गएको उहाँले बताउनुभयो । घरमै धारा जडान भएपछि व्यक्तिगत तथा घरायसी सरसफाइमा पनि सहज भएको थापाको भनाइ छ ।

थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका सचिव सुरेन्द्रबहादुर थापाका अनुसार खानेपानी योजनालाई दिगो बनाउन सबै लाभान्वित उपभोक्ताहरू प्रतिबद्ध रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?