भारतीय सहयोगमा कपिलवस्तुमा विद्यालय भवन

Read Time = 2 mins

कपिलवस्तु । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले शुक्रबार बुद्धभूमि नगरपालिकास्थित नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा नेपालका तर्फबाट कपिलवस्तु-२ का सांसद बृजेशकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठलगायतको उपस्थिति थियो ।

शिक्षा क्षेत्रमा भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत सामुदायिक विकास परियोजनाका रूपमा भारत सरकारको तीन करोड ४० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण भएको दूतावासले जनाएको छ । श्री माध्यमिक विद्यालय कपिलवस्तुको एक पुरानो विद्यालय हो ।

सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा चार सय ७० परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कपिलवस्तुका पाँच गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?