बागलुङ-१ मा चित्रबहादुर केसी कति सुरक्षित ?

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी १५ वर्षपछि फेरि चुनावी मैदानमा आउनुभएको छ । २०६४ सालमा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जित्नुभएका केसी २०७० मा समानुपातिकबाट संसद् भवन छिर्नुभएको थियो । २०७४ को चुनावमा भने उहाँले सांसद बन्ने चाहना राख्नुभएन । त्यसबेला धेरैले केसी अब संसदीय राजनीतिबाट बिदा लिएको अनुमान गरेका थिए । तर, केसी आगामी मंसिर ४ मा हुने निर्वाचनमा बागलुङ–१ बाट पाँच दलीय गठबन्धनका तर्फदेखि उम्मेदवार बन्नुभएको छ । २०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केसी उम्मेदवार बन्नुभएको थिएन । वाम गठबन्धनबाट बागलुङका दुई निर्वाचन क्षेत्रमा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका सूर्य पाठक र क्षेत्र नम्बर २ बाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललाई सघाउनुभएको थियो ।

चार प्रदेश क्षेत्रमध्ये त्यसबेला दुई प्रदेशसभा सदस्य पाएको जनमोर्चाले क्षेत्र नम्बर १ (ख) बाट कृष्ण थापा र २ (ख) टेकबहादुर घर्ती विजयी हुनुभएको थियो । घर्तीको निधनपछि उपनिर्वाचनबाट जनमोर्चाकै खिमविक्रम शाही विजयी हुनुभएको थियो । क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका इन्द्रलाल सापकोट र क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी हुनुभएको थियो ।

यसपालि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि जनमोर्चाका अध्यक्ष केसी उम्मेदवार बनेपछि अन्य क्षेत्र नेपाली कांग्रेसलाई छोडेको छ । गत निर्वाचनमा दुई प्रदेशसभा जितेको जनमोर्चाले यसपटक एउटा प्रतिनिधिसभा जितेर शाख जोगाउने दाउमा छ ।
केसीको प्रतिद्वन्द्वीका रूपमा एमालेका केन्द्रीय सदस्य डा. सूर्यपाठक हुनुहुन्छ । अघिल्लो निर्वाचनमा केसीलाई डा. पाठकलाई सघाउनुभएको थियो । यसपालि क्षेत्र नम्बर १ को निर्वाचन निकै रोचक हुने नेता कार्यकर्ताको अनुमान छ । पाठक युवा पुस्तामा निकै लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँको उम्मेदवारीले केसीलाई शाख जोगाउन हम्मे पर्ने धेरैको आँकलन छ । तर, स्थानीय तह निर्वाचन २०७९ को मत परिणामलाई हेर्दा केसी सुरक्षित हुने देखिन्छ ।

क्षेत्र नम्बर १ मा चार पालिकामा ३७ वडा छन् । गत स्थानीय तहको मत परिणामलाई हेर्दा गठबन्धनले ३७ वडामध्ये २९ वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने आठ वडामा मात्रै एमालेका उम्मेदवारले जित हासिल गरेका थिए । गठबन्धनका दलमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले १९ वडा, माओवादी केन्द्रले तीन वडा, एकीकृत समाजवादीले तीन वडा र राष्ट्रिय जनमोर्चाले चार वडा जितेका थिए ।
गठबन्धनले ३१ हजार ६३७ मत पाएको थियो भने नेकपा एमालेले २२ हजार ३७६ मत पाएको थियो । यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २६१ मतले अगाडि देखिन्छ । यसपटक यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, स्वतन्त्रबाट चन्द्र क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटा र नेपाली कांग्रेस (बिपी)का शिवलाल सापकोटा पनि यस क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । उहाँहरूले पनि केसीको केही मत काट्न सक्ने गठबन्धनका नेता बताउँछन् ।

गठबन्धनका एक नेताले भन्नुभयो, ‘गठबन्धनका नेता तथा कार्यकर्ताले गठबन्धनको मर्मअनुसार लाग्नुभयो भने यसपटक चित्रबहादुर केसीले १० देखि १२ हजार मतान्तरले जित्नुहुन्छ भन्ने हामीले अनुमान गरेका छौँ, हार्ने त एक प्रतिशत पनि सम्भवना छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?