अचेल गुन्जिदैनन् ‘यानीमाया’ भाका

हिमालय टाइम्स
Read Time = 7 mins

-डम्मर बुढा मगर

बागलुङ । धौलागिरी क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ ।

एकल तथा समूहिक रुपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र उसँगै समुहका अन्य कलाकारहरूले गाउने गर्छन् । केहीले एकल रुपमा पनि गाउने गर्छन् । अहिले बजारमा आएका आधुनिक, लोकदोहोरी लगायतका गीतले गर्दा यानीमाया गीत गाइन छोडेको बुढापाकाको भनाइ छ ।

धौलागिरीको म्याग्दी, बागलुङमा बढी चर्चित यानीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ । खास गरी आदिवासी जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन् । बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने यानीमाया गीत कम गाइन थालेको पाइन्छ ।

बागलुङ जिल्लाको निसीखोलाका बुढापाकाले अहिले पनि मेला महोत्सव हुँदा यो गीत गाउने गरेको पाइन्छ । तर पहिलेको जस्तो रौनक भने छैन । गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरीगीत भन्दा विल्कुलै फरक हुन्छ । गीतको बीच–बीचमा यानीमाया जोडेर गाइने हुँदा यसलाई यानीमाया गीत भन्ने गरिएको निसीखोला गाउँपालिका–६ सिपकी ५९ वर्षीया तिर्सना घर्ती मगरले बताउनुहुन्छ । उहाँले यो गीत नयाँ पुस्ताले नजान्ने बताउनुभयो ।

‘गीतहरू सबै एउटै हुँदैनन्, शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ, यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, त्यही भएर यसलाई यानीमाया गीत भन्ने गरिएको हो, पहिले–पहिले हामीहरुले निकै गाउने गथ्र्यौँ’ घर्ती मगरले भन्नुभयो–‘अहिले यो गीत कहीँ कतै पनि सुनिदैन, अहिलेका युवायुवतीहरुले गाउन जान्दैनन्, हामीहरु पनि बुढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नु पर्छ, यानीमाया गीत गाउँदा गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हसाउन सक्ने शक्ति हुन्छ ।’

घर्ती मगरले आफूहरूले रोधी बस्दा पनि यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधीनै बस्न छोडिएको बताउनुभयो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतहरूले यानीमाया गीत हराउन थालेको उहाँको भनाई छ । घर्तीले यानीमाया गीत कलाकारहरुले पनि कमै मात्रा गाउने गरेको बताउनुहुन्छ ।

‘हाम्रो गाउँ तिर पहिले–पहिले रोधी बस्ने चलन थियो, रोधीमा तरुनी तन्नेरी भएर गीत गाउने गथ्र्यौँ, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छोडिएको हो,’ उहाँले भन्नुभयो– ‘यो गीत त कलाकारहरुले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर अहिले सुनिदैन ।’

उहाँले रोधीमा यानीमाया गीत गाउँदा गाउँदै आफूले विवाहसमेत गरेको सुनाउँदै अहिले त्यो चलन हटेको बताउनुभयो । गीत गाउँदा गाउँदै यस क्षेत्रमा धेरैले विवाह गरेको उहाँको भनाइ छ । घर्ती मगर भन्नुहुन्छ– ‘पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदै गाउँदै तरुनी तन्नेरी मन प¥यो भने बिहे गर्ने चलन थियो, अहिले रोधी पनि बस्न छोडियो, त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरु पनि छैनन्, हामीभन्दा पछाडीका नयाँ युवाले यो गीत गाउँदैनन् ।’

बागलुङ गलकोटका पूर्णबहादुर श्रीसले यानीमायासँगै गीतमा मौलिकता हराउँदै गएको बताउनुभयो । श्रीसले यानीमाया गीतहरु मध्ये विशिस्ट गीत रहेको भन्दै पछिल्लो समय धौलागिरी क्षेत्रमै निकै कम गुन्जिने बताउनुहुन्छ । ‘यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन, यसले सांगीतिक क्षेत्रमा सिंगो धौलागिरीको पहिचानलाई बेग्लै बनाउन सफल भएको थियो, अहिले हराउन थालेको’ उहाँले भन्नुभयो ।

उहाँले लोक, आधनिक र पप गीत जस्तै रेकर्ड भएर विभिन्न माध्यमबाट नागरिकसम्म पुगेको भए अरु गीत ओझेलमा पर्ने बताउनुभयो । यानीमायासँगै सुनिमाया र शिरफुलेमाया पनि हराएको श्रीसको भनाइ छ । ‘यानीमाया तीन दिन तीन रात गाएर पनि सकिदैन, गाउँदै गयो भने यसको गहिराइमा पुगिन्छ, गहिराबाट निस्किन समय लाग्छ,’ श्रीसले भन्नुभयो–‘अहिले गाइने गीतहरु जस्तै यानीमाया गीत पनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलहरुमा आएको भए, अरु गीत ओझेलमा पर्ने थियो, यानीमाया गीत गाउन सुन्न थालियो भने अरु गीत सुने जस्तो, गाए जस्तो हुन्न ।’

उहाँले यानीमाया गीत टिभी, रेडियोमा सुनेर नभई बुढापाकाले गाएको सुनेर सिकेको बताउनुभयो । कलाकारहरुले यो गीतलाई रेकर्ड गरेर जनस्तरमा ल्याउन सके संरक्षित हुन सक्ने श्रीसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?