देश र जनताको हितका निम्ति नेकपा एस अग्रपंक्तिमा उभिन्छः अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यामबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम शुरु गर्न लागेको पनि स्पष्ट पार्नुभयो । यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई विदाई गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो । अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पु¥याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी जागरण अभियान हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असोजको १४ गतेबाट कोशी प्रदेशको झापाको मेची नदीको किनारबाट शुरु गर्न गइरहेका छौं । र, त्यहाँबाट हाम्रो यात्रा प्रारम्भ हुनेछ । र, बाटोमा पर्ने सबै जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु तय गरेका छौं । त्यस अनुसार हामी सानो, छोटो सभाहरु पनि आयोजना गरेका छौं । ठूलो सभाहरु पनि आयोजना गर्ने तय गरेका छौं । अन्तरक्रिया कार्यक्रम पनि हामी राख्नेछौं । विभिन्न संगठनका बैठकहरु पनि आयोजना हुनेछ । पार्टीको सदस्यता, पार्टी प्रवेशलगायतका सबै अभियानहरु पनि चल्नेछन् । त्यो सबै गर्दैं हामी महाकाली नदीको किनारमा पुग्नेछौं । कञ्चनपुरमा कार्यक्रम सकेर हामी कर्णाली प्रदेशमा प्रवेश गर्नेछौं । सुर्खेतमा कार्यक्रम सम्पन्न गरेर हाम्रो यो अहिलेको चरणको अभियान २८ गते सकिनेछ । र, २९ गते हामी फर्किनेछौं । यसका निम्ति पहिलो टोली आज झापा जाँदैछ । टोलीले तयारीको काम पनि गर्नेछ । भोलि हाम्रो झापामा पत्रकार सम्मेलन गरिनेछ । र, त्यसपछि पर्सी बिहान १४ गते ११ बजे त्यस ठाउँबाट कार्यक्रम शुरु गरेर यात्रा प्रारम्भ हुनेछ । र, यो यात्राले समाजवादको सन्देश, समाजवादीप्रति हाम्रो पार्टीको दृष्टिकोणहरु, धारणाहरु र देशको राजनीतिलाई कसरी सकारात्मक दिशामा लिएर जाने हो, संविधानप्रतिको विश्वास कसरी बलियो बनाउने हो, सुशासनको पक्षमा राज्य चलोस भन्ने हाम्रो धारणा जनताको माझमा कसरी प्रश्तुत गर्ने हो ? भन्ने कुरादेखि लिएर रोजगारीका समस्याहरु, त्यसैगरी समृद्धिका समस्याहरु, समानता र न्यायका समस्याहरु अगाडि सारेर हामीले सुशासन, विकास, उत्पादन, रोजगारी र समृद्धिको यो तीन वटा नारा हामीले अगाडि सारेका छौं । रोजगारीलाई पहिलो भनेका छौं, दोस्रो, हामीले सुशासनको कुरा राखेका छौं । तेस्रो समृद्धिको कुरालाई राखेका छौं । यी तीन वटा विषयहरु भित्र हामीले आफ्ना नाराहरु पनि तय गरेका छौं । जनजीविकासँग, राष्ट्रियतासँग जोडिएका अनेकौ नाराहरु तय गरेका छौं । ठाउँठाउँमा सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछ । सडक नाटकहरुको पनि आयोजना गरिनेछ । यसरी विविध हिसावबाट जनतामा एउटा नयाँ किसिमको उत्साह, कार्यकर्ता पंक्तिमा नयाँ किसिमको जागरण बढाउने उद्देश्यबाट अब यो देशमा समाजवादको निम्ति, जनताको हित र कल्याणको निम्ति, देशको अस्तित्व र स्वाभिमानको निम्ति र देशका आजसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्ने कुरामा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अग्रपंक्तिमा उभिन तयार छ भन्ने सन्देश दिने गरी हामीले यो कार्यक्रमको आयोजना गरेका छौं । यसमा तपाई सबै पत्रकार साथीहरुको, समाजका सबै समुदायहरुको पूरा साथ, सहयोग चाहिएको छ । त्यो साथ र सहयोग हुन्छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताउनु भयो । उहाँका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ । अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरु आम जनतालाई जानकारी गराउनेलगायतका जनपक्षीय कामहरु हुने पनि नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?