विश्व भोकमरी सूचकांकमा भारत १०७औं स्थानमा

Read Time = 6 mins

नयाँदिल्ली । विश्व भोकमरी सूचकांकमा भारत १०७औं स्थानमा झरेको छ । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७औं स्थानमा झरेको हो । गत वर्षको १०१औं स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलंकका, म्यानमार, नेपाल, बंगलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो ।

जिएचआई अनुसार श्रीलंकका (६४), म्यानमार (७१), नेपाल (८१), बंगलादेश (८४) र पाकिस्तान (९९) स्थानमा छन् । नयाँ तथ्यांकमा यस वर्ष १४ देश वा क्षेत्रले मात्र भारतभन्दा खराब प्रदर्शन गरेका छन् ।

कन्सर्न वल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा उक्त प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् । भारतको जीएचआई अंकमा पनि सन् २०२० मा सुधार भई ३८.८ बाट सन् २०१४ देखि २०२२ को औषत २९ अंकको दायरामा पुगेको छ ।
अल्पपोषण, बाल बर्बादी, बाल पुड्कोपन र पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको मृत्युदर गरी जीएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको तौल कम हुनुलाई अल्पपोषणको कारणले गर्दा बालबालिकाको तौल कम हुनु मानिन्छ ।

बाल पुड्कोपनले पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको अनुपात मापन गर्दछ जुन पुरानो कुपोषणको प्रभावको कारण उनीहरूको उमेरको लागि कम उचाइ रहेको छ । प्रतिवेदनअनुसार १७ वटा देशले जीएचआई स्कोर पाँचभन्दा कम प्राप्त गरेका छन् । भोकमरी र कुपोषणको अनुगमन गर्ने जीएचआईका अनुसार भारतमा भोकमरीको स्तर ‘गम्भीर’ छ ।

‘भोक मापन गर्ने तरिका गलत’
ग्लोबल हंगर इन्डेक्स (जीएचआई) मा भारत १०७औं स्थानमा आएको रिपोर्टमा केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ । सरकारले जीएचआईसम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकांकलाई भारतको खराब छवि भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको बताएको छ । भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतको छविलाई निरन्तर धमिलो पार्ने प्रयास एलपटक फेरि देखिएको छ र भनिएको छ कि एक राष्ट्रको रूपमा यसले आफ्नो जनसंख्याको खाद्य सुरक्षा र पोषण आवश्यकताहरू पूरा गर्न सकेको छैन । ग्लोबल हंगर इन्डेक्स रिपोर्ट गलत जानकारी हो । ग्लोबल हंगर इन्डेक्स २०२२ आयरल्याण्ड र जर्मनीको गैरसरकारी संस्था कन्सर्न वल्र्ड वाइड एण्ड वेल्ट हंगर हिल्फ जारी गरेको हो र यसमा भारतलाई १२१ देशमध्ये १०७औं स्थानमा राखेको छ ।’

भारतले भन्यो, ‘यो सूचकांक भोक मापन गर्ने गलत विधि हो र मापन पद्धतिको गम्भीर समस्याबाट ग्रस्त छ । सूचकांक मापन गर्ने चारमध्ये तीन विधि बालबालिकाको स्वास्थ्यसँग मात्र सम्बन्धित छन् र सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व नहुन सक्छ ।’ ग्लोबल हंगर इन्डेक्सको बरियता कुल स्कोरमा दिइएको छ । यो अंक विशेषगरी कुपोषण, गम्भीर नवजात कुपोषण, बालबालिकाको वृद्धि र बालमृत्युदरका चार सूचकहरूको मानमा मापन गरिन्छ ।

भारतले यस रिपोर्टलाई जवाफ दिँदै भनेको छ, ‘कुल जनसंख्यामा कुपोषणको अनुपात यो सूचकांकको चौथो र सबैभन्दा महत्वपूर्ण मापन हो, तर त्यो पनि एक जनमत सर्वेक्षणमा आधारित छ । जसमा तीन हजार जनाको सानो नमुना आकार लिइएको छ ।’ मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ कि यो सर्वेक्षण मोड्युल खाद्य र कृषि संगठन को खाद्य असुरक्षा अनुभव स्केल ग्यालप वल्र्ड पोल द्वारा पूरा गरिएको हो जुन ‘ओपिनियन सर्भे’ हो, जुन ‘आठ प्रश्नहरू’ मा आधारित छ । यसमा ‘३००० उत्तरदाताहरू’को सानो नमुना आकार छ । यसमार्फत भारत जस्तो देशको कुपोषण स्थिति पत्ता लगाउनु गलतमात्र नभएर अनैतिक रहेको र यसले प्रष्ट पक्षपातमात्र देखाएको विज्ञप्तिमा लेखिएको छ ।

मन्त्रालयले ‘ग्लोबल हंगर इन्डेक्स’ जारी गर्ने संस्था कन्सर्न वल्र्ड वाइड एण्ड वेल्थ हंगर हिल्फलाई प्रतिवेदन जारी गर्नुअघि उचित काम नगरेको स्पष्ट पारेको छ । भारतले भनेको छ, ‘यो प्रतिवेदन जमिनी वास्तविकताबाट मात्र टाढा छैन, तर सरकारले आफ्ना जनतालाई खाद्य सुरक्षा प्रदान गर्न गरिरहेको प्रयासलाई पनि जानाजानी बेवास्ता गरेको छ, विशेषगरी कोविड महामारीको समयमा प्रदान गरिएको सहयोगलाई ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?