अर्घाखाँची सिमेन्ट पनि भारत निर्यात सुरु

Read Time = 4 mins

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र स्तरीयमध्येको एक अर्घाखाँची सिमेन्टले पनि सोमबारदेखि उत्पादन औपचारिकरूपमा निर्यात सुरु गरेको छ । रूपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रम आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४ हजार बोरा (७० टन) ‘पोर्टल्याण्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो । भारतको नौतनवा, महाराजगञ्जस्थित सिभान्स एसोसिएट्सले पहिलोपटक अर्घाखाँचीको उत्पादन खरिद गरेको कम्पनीले जनाएको छ ।

सो अवसरमा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले भन्नुभयो, ‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापारघाटा कम गर्न सहयोग पुग्नेछ ।’ त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो ।’

मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको हो । यस अवसरलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उहाँको आग्रह थियो । भारतको ब्युरो अफ इण्डियन स्ट्याण्डर्ड्सले अर्घाखाँची सिमेन्टलाई गुणस्तरसम्बन्धी इण्डियन स्ट्याण्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो । कम्पनीले ओपिसी, पिपिसी र क्लिंकर निर्यातका लागि आइएसआई मार्क पाइसकेको छ । जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादन पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना बनाएको छ । सरकारले सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेको छ । सरकारले ३० प्रतिशत मूल्य अभिवृद्धि गरी ५० करोडमाथिको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान र ५० करोडमुनिको सिमेन्टमा चार प्रतिशत नगद अनुदानको व्यवस्था गरेको छ ।

दुई महिनाअघि पाल्पा सिमेन्टले भारतमा पहिलोपटक सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँचीले दोस्रो कम्पनीका रूपमा सिमेन्ट निर्यात गरेको हो । क्लिंकरसमेत उत्पादन गर्ने अर्घाखाँचीको दैनिक चार हजार टन अर्थात् ८० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?