खेलाडीमय बागलुङ बजार

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर
बागलुङ । बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन् । बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ । बागलुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रमा समेत अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन् । बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ ।

बागलुङमा शनिबारदेखि जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगिताले बागलुङ बजारलाई जुल्जार बनाएको छ । अहिले बागलुङ बजारको चोक चोकमा आइटिएफका व्यानरहरु छन् भने बाङ्गेचौर खेलमैदान झकिझकाउ बनेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले बागलुङ बजार आइटिएफमय बनेको छ । आइटिएफको उर्भरभूमी बागलुङमा नवौं राष्ट्रिय खेल आयोजना भइरहदा खेलाडी तथा बागलुङबासीमा उत्साह छाएको आइटिएफ तेक्वान्दोका सचिव राजु खड्काले बताउनुभयो ।

“बागलुङ बजार अहिले आइटिएफ मय भएको छ, अहिले बाङ्गेचौरमा कुम्भमेलानै लागेको छ, बागलुङ जिल्ला आइटिएफ तेक्वान्दोको उर्भर भुमि हो” खड्काले भन्नुभयो “बागलुङ जिल्लाले नवौं राष्ट्रिय खेल गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा आइटिएफ तर्फ धेरै पदक जितेको समेत छ, अहिले बागलुङको पर्यटन पर्वद्धन संगै व्यापार व्यवसाय समेत फष्टाएको छ ।”

बागलुङ बजारको बाङ्गेचौर खेलमैदान स्थित तेक्वान्दो कर्वडहल र बाङ्गेचौर खेलमैदानमा आयोजना गरेको आइटिएफ तेक्वान्दो प्रतियोगितामा दर्शकको आकर्षण बढ्दो छ । दर्शकको माग पुरा गर्न प्रतियोगिताको स्थानीय आयोजक बागलुङ नगरपालिकाले कवर्डहलमा दर्शक राख्न समस्या भएपछि केही खेलहरु बागलुङको बाङ्गेचौर खेलमैदानमा समेत आयोजना गरेकाले दर्शकको आकर्षक बढेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको आइटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताउनुभयो ।

शनिबार देखि दैनिक रुपमा आइटिएफ तेक्वान्दो खेल प्रतियोगिता हेर्नका लागि बाङ्गेचौर आउनेगरेको खेलप्रेमि सन्तोष सिवालले जानकारी दिनुभयो । “खेल प्रेमिहरुका लागि कुम्भमेला नै लागेको छ यहाँ, दैनिकरुपमा प्रतियोगिता हेर्न म सहित धेरै दर्शकहरु आउने गरेका छन्, अहिले यो प्रतियोगिता बागलुङमा हुनुले बागलुङको प्रतिष्ठा बढेको छ, अहिले बागलुङ आइटिएफ मय बनेको छ” दर्शक सिलवालले भन्नुभयो “बागलुङले ३५० बढी खेलाडी र पाहुनाहरुलाई व्यवस्थापन गरी यहाँ राख्न सफल भएको छ, यो बागलुङ आइटिएफको उर्भर भूमिमा राष्ट्रिय खेल हुँदा आटिएफका खेलाडीहरु उत्साहित भएका छन् ।”

३५० भन्दा बढी खेलाडी र पाहुना कात्तिक ३ गते सम्म बागलुङमा रहने भएकाले बागलुङको व्यापार तथा पर्यटन व्यवसायमा सघाउ पुग्ने बागलुङ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो । मुख्यतया देशभरका आइटिएफ खेलाडीहरुले बागलुङ चिन्ने र बागलुङको विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने गरेका छन् ।

बागलुङमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन बिभागीय गरी १० टीमका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी भएका छन् । बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण ४५ रजत र ३० काश्य गरी कूल १२० पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?