रूपन्देहीको चुनाबी रौनक : कतै सहयात्री त कतै पूर्व र वर्तमान मन्त्रीबीच प्रतिष्पर्धा

हिमालय टाइम्स
Read Time = 18 mins

-नरेश के.सी.

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देश नै निर्वाचनमय बनेको छ। देशभरबाट प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० जना सांसद चुनिनु पर्ने हुन्छ। देश यतिबेला चुनाबमय भएको छ। गाउँसहर र टोलटोलमा दलका प्रचार कार्यालय खुल्ने, चुनाब चिह्नसहितको झन्डाहरू राख्ने क्रमले तीब्रता पाएका छन्। काठमाडौं र प्रदेश राजधानी केन्द्रित भएका नेताहरू गाउँ फर्किएर जनतासँगको घेटघाटमा जुटेका छन्। निर्वाचन आयोगले प्रचार प्रसार कार्यको अनुमति त दिएको छैन तर पनि नेताहरू त्यसको बेवास्ता गर्दै लुम्बिनी प्रदेशको केन्द्र रूपन्देहीमा चुनाबी प्रचार अभियानलाई तीब्रता दिएका छन्।

रूपन्देहीमा ५ ओटा निर्वाचन क्षेत्र छन्। यी क्षेत्रमा पुरूष मतदाताको सङ्ख्या ३ लाख २७ हजार ४ सय ३३, महिला ३ लाख ११ हजार ५ सय ११, अन्य ८ जना गरी कुल ६ लाख ३८ हजार ९ सय ५२ जना मतदाता रहेका छन्। रूपन्देहीमा २ सय ८ मतदान स्थल र ७ सय २ मतदान केन्द्र रहेका छन्।

रूपन्देही क्षेत्र नम्बर १

रूपन्देही क्षेत्र नं. १ मा मतदाता सङ्ख्या १ लाख ३९ हजार ५ सय ६० जना रहेका छन्। जसमा पुरूष ६९ हजार ९ सय ३३, महिला ६९ हजार ६ सय २५, अन्य २ जना रहेका छन्। यो क्षेत्रमा २१ जनाले उम्मेदवारी दिएको भए तापनि मूलतस् पूर्व सहकर्मी घनश्याम भुसाल र छबिलाल विश्वकर्माबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ। भुसाल नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिई निर्वाचनको मैदानमा छन्।

अर्कोतिर नेकपा एमालेबाट विश्वकर्मा चुनाबी मैदानमा छन्। भुसाल र विश्वकर्मा चार दशकसम्म एमालेमा सँगै काम गरेका सहयात्री हुन्। यस पटक त्रिभुज चुनाब चिह्न लिएका भुसाल र सूर्य चिह्न लिएका विश्वकर्माबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ। एमालेका पूर्व उपमहासचिव भुसाललाई एमालेको असन्तुष्ट पक्ष, सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राजमो लगायतको समर्थन रहेको छ। विश्वकर्मालाई नेकपा एमाले, राप्रपा र जसपाको ३ दलीय गठबन्धनको समर्थन रहेको छ। भुसाल र विश्वकर्मा दुबै एमालेमा धेरै लामो समय काम गरेका सहयात्री मात्रै नभएर संघीय सरकारको मन्त्रालय पनि दुबैले कृषि मन्त्रालय सम्हालेको अनुभव छ। दुवै जना पूर्व कृषि मन्त्री पनि हुन्। माक्र्सवादी दर्शनका ज्ञाता तथा नेपाली कम्युनिष्ट आन्दोलनका अध्ययेताको रूपमा परिचय गराएका भुसाल र शालीन, सांगठानिक कुशलता भएका विश्वकर्माबीचको चुनाबी प्रतिष्पर्धामा कसले बाजी मार्ला त्यो भने मंसिर पहिलो हप्तामा देखिनेछ।

रूपन्देही क्षेत्र नम्बर १ (१) मा ११ जना उम्मेदवार छन्। जसमध्ये नेपाली कांग्रेसबाट विश्वनाथ यादव, राप्रपा नेपालका आशिषप्रसाद चौधरी बीच प्रतिष्पर्धा हुने देखिन्छ। प्रदेशसभा १ (२) मा १४ जना उम्मेदवार रहेका छन्। नेपाली कांग्रेसबाट अब्दुल रज्जाक र नेकपा एमालेबाट दधिराम न्यौपाने मुख्य प्रतिस्पर्धी देखिएका छन्। देवदह, तिलोत्तमाको ९ वटा वडा , रोहिणी, ओमसतिया गाउपालिका समेत पर्ने उक्त क्षेत्रका जनताको मत कसले पाउने छ त्यो भविष्यमा देखिनेछ।

रूपन्देही क्षेत्र नम्बर २

रूपन्देहीमा मात्रै नभएर नेपालमा सर्वाधिक चर्चा भएको निर्वाचन क्षेत्र हो रूपन्देही क्षेत्र नम्बर २। बुटवल मुख्य केन्द्र रहेको यो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै सर्वाधिक चर्चा भएको थियो। यतिबेला सर्वोच्च अदालतले उक्त उम्मेदवारीलाई यथावत राख्दै कात्तिक २ गतेको लागि अन्तिम सुनुवाई राखेको छ। उक्त क्षेत्रमा कुल ५९ हजार ६ सय ६२ पुरूष, ६७ हजार १ सय ४२ जना महिला र अन्य ३ जना गरी १ लाख २६ हजार ८ सय ७ जना मतदाता रहेका छन्।

रूपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका विष्णु पौडेल र एकीकृत समाजवादीका राजु गुरूङबीच प्रतिष्पर्धा हुने देखिएको छ। पौडेल र गुरूङ पनि एमालेमा सँगै काम गरेका सहयात्री हुन् तर यतिबेला उनीहरू एक अर्काबीच आमनेसामने भएका छन्। विगतमा गुरूङकै मुख्य सहयोगमा पौडेलले निर्वाचन जित्दै आएका थिए तर यतिबेला गुरूङ पौडेलको प्रतिष्पर्धीको रूपमा अगाडि आएका छन्। पौडेललाई जसपा र राप्रपाको साथ रहेको छ भने गुरूङलाई कांग्रेस, माओवादी केन्द्र र लोसपा र राजमोको साथ रहेको छ। धेरै पटक मन्त्री भइसकेका पौडेलले विगतमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारी मतले पराजित गरेसँगै उनको चर्चा थप चुलिएको थियो। यतिबेला गुरूङको उम्मेदवारी कायम भयो भने पौडेललाई संकट थपिने छ। सत्ता गठबन्धनले इमान कायम गर्ने हो भने गुरूङ पौडेल भन्दा बलिया समेत देखिएका छन्। प्रदेशसभा सदस्य २ (१) मा नेपाली कांग्रेसका दीर्घबहादुर केसी र नेकपा एमालेबाट लीला गिरी बीच प्रतिष्पर्धा हुनेछ। यहाँ १ पदका लागि १२ जनाको उम्मेदवारी रहेको छ। गिरी एमालेका प्रभावशाली नेता हुन् भने के।सी। नयाँ अनुहार हुन्। राजनीतिकर्मी गिरी र व्यवसायिक पृष्ठभूमिका के।सी।बीचको प्रतिष्पर्धा पनि रोचक नै हुने देखिन्छ। यद्यपि गिरी त्यसै क्षेत्रबाट यसअघि पनि निर्वाचित भइसकेको लामो समयदेखि जनसमक्ष काम गरेकाले उनको जनाधार प्रतिष्पर्धीको भन्दा बलियो देखिन्छ।

प्रदेशसभा सदस्य २ (२) मा ११ जना उम्मेदार रहेका छन्। नेकपा माओवादी केन्द्रका बामदेव क्षेत्री र नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ बीच प्रतिष्पर्धा धेरै हुने देखिन्छ। क्षेत्री प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहेर काम गरेका व्यक्ति हुन्। यद्यपि बुटवलको पर्याय जस्तै रहेका भोजप्रसादको अगाडि क्षेत्रीको जनाधार कमजोर देखिन्छ।

रूपन्देही क्षेत्र नम्बर ३

रूपन्देही क्षेत्र नम्बर ३ को निर्वाचन अझ बढी रोचक हुने भएको छ। ०७० को निर्वाचनमा साथमा रहेकाहरू अलग भएका छन् भने त्यतिबेला अगल भएकाहरू यतिबेला जोडिएका छन्। रूपन्देही क्षेत्र नम्बर ३ मा गत निर्वाचनमा बालकृष्ण खाण र दीपक बोहोरा साथ साथ मिलेर निर्वाचनमा होमिएका थिए भने त्यतिबेला एमालेका उम्मेदवार घनश्याम भुसाल अलग प्रतिष्पर्धामा थिए। राप्रपा र कांग्रेस एक हुँदा समेत एमालेका उम्मेदवार भुसालले तत्कालीन राप्रपा कांग्रेसका साझा उम्मेदवार दीपक बोहोरालाई पराजित गरेका थिए। यतिबेला एमाले र राप्रपा एक भई कांग्रेससँग प्रतिसपर्धा गर्दै छ। राप्रपा एमाले, जसपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहरा उम्मेदवार रहेका छन् भने कांग्रेस, लोसपा, एकीकृत समाजवादीको गठबन्धनबाट कांग्रेस नेता बालकृष्ण खाण उम्मेदवार रहेका छन्।

५ दशकदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका पूर्वमन्त्री बोहोरा र हालका गृहमन्त्री खाणबीचको प्रतिसपर्धालाई धेरैले नियाली रहेका छन्। खाणको लागि आसन्न निर्वाचन मर र गर जस्तै छ। किनभने उनले यदि यो पटक निर्वाचन जितेनन् भने त्यसपछि उनलाई यो क्षेत्रमा फलामको चिउरा चपाए झैं हुने राजनितिक विश्लेषकहरू बताउँछन्। बोहोराको लागि पनि उत्तिकै महत्वपूर्ण छ– यो निर्वाचन।

यसैले जसरी पनि निर्वाचन जित्नैपर्ने अवस्थामा छन्– यी दुबै उम्मेदवारहरू

रूपन्देही क्षेत्र नम्बर ३ मा पुरूष ६७ हजार ३ सय ९४, महिला ६५ हजार ३ सय ९५, अन्य २ जना गरी १ लाख ३२ हजार ७ सय ९१ जना मतदाता रहेका छन्। यो क्षेत्रमा २२ जना उम्मेदवार रहेका छन्। यो क्षेत्रमा स्वतन्त्रबाट ११ जना उम्मेदवार छन्। रमेश गैरे, राजिब शाही, इशरात अलि फकिर, केशब बिक्रम खड्का, गुडिया पथरकट्ट, घनश्याम भट्टराई, जीवकान्त काफ्ले, देवराज न्यौपाने, नबाब मुसलमान, नरबहादुर क्षेत्री र नारायणप्रसाद शर्मा। हाम्रो नेपाली पार्टीबाट प्रख्यात बन्जाडे, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिब अलि मुसलमान, जनमत पार्टीबाट प्रमोदकुमार राउत, मंगोल नेशनल अर्गनाइजेसनबाट तेजकुमारी आले, नागरिक उन्मुक्ति पार्टीबाट तुल्सीप्रसाद थारू, राष्ट्रिय स्वतन्त्रपार्टीबाट जितबहादुर गुप्ता, गान्धीवादी पार्टी नेपालबाट लालबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सरस्वती धोबी, नेपाल मजदुर किसान पार्टीबाट सरू विक प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। देशभर स्वतन्त्र उम्मेदवारको लहर चले पनि रूपन्देहीको क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यको लागि ११ जना हुँदा जनताले कसलाई रोज्ने सकस नै हुने भएको छ ।

प्रदेशसभा ३ (१) मा ११ जना उम्मेदवार छन्। राप्रपा नेपालका अर्जुन थापा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोषकुमार पाण्डे, जनता समाजवादी पार्टीका महेन्द्र यादव चर्चामा रहेका छन्। प्रदेशसभा ३ (२) स्वतन्त्र उम्मेदवार सहित ११ जना उम्मेदवार छन्। नेपाली कांग्रेसका रामचन्द्र ढकाल, नेकपा एमालेका तुल्सीप्रसाद चौधरीबीच कडा प्रतिसपर्धा हुने देखिन्छ।

रूपन्देही क्षेत्र नम्बर ४

क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको १ जना पदका लागि १२ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसबाट प्रमोदकुमार यादव, जनता समाजवादीका ओमप्रकाश यादव, लोकतान्त्रिक समाजवादीबाट सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका भोपेन्द्र यादव लगायतका उम्मेदवारहरू रहेका छन्। निर्वाचन जित्न त्रिपक्षीय प्रतिष्पर्धा कडा हुने छ। यो क्षेत्रमा लोसपा र कांग्रेस बीच तालमेल हुन सकेको छैन। लोसपाका उम्मेदवार शुक्ला र कांग्रेस उम्मेदवार यादवबीच बढी प्रतिष्पर्धा हुने देखिएको छ। प्रमोद यादव निवर्तमान सांसद हुन्, ओमप्रकाश यादव पूर्व मन्त्री हुन भने शुक्ला धेरैपटक मन्त्री र सांसद भइसकेका छन्। भोपेन्द्र उक्त क्षेत्रमा नयाँ भए तापनि मधेश क्षेत्रको सेन्टिमेन्ट उनीसँग रहेको छ।

प्रदेशसभा ४ (१) मा ६ जनाको उम्मेदवारी रहेको छ। नेपाली कांग्रेसबाट अष्ठभुजा पाठक, नेकपा एमालेबाट सुनिलकुमार गिरी बीच कडा प्रतिष्पर्धा हुने देखिन्छ।

प्रदेशसभा ४ (२) मा १२ जनाको उम्मेदवारी रहेको छ। जसमध्ये नेपाली कांग्रेसका बसिउद्धिन खाँ, जनता समाजवादी पार्टी नेपालका रामअवातर यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोहनलाल यादव बीच घम्साघम्सी नै हुने देखिन्छ।

रूपन्देही क्षेत्र नम्बर ५

क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ। जसमध्ये नेपाली कांग्रेसका भरतकुमार शाह, नेकपा एमालेबाट बासुदेव घिमिरे, जनता समाजवादी पार्टी नेपालका कृष्ण उपाध्याय, हाम्रो नेपाली पार्टीका भिष्म रानाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। स्वतन्त्र उम्मेदवारको लर्को पनि यस क्षेत्रमा कमी छैन। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका पूर्व अर्थराज्य मन्त्री तथा संसद्को लेखा समितिका पूर्व सभापति शाह र विकासको लागि नेपालमै उदाहरणीय काम गरेका एमाले, राप्रपा, जसपा गठबन्धनका साझा उम्मेदवार तिलोत्तमा नगरका पूर्व मेयर घिमिरेबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ। शाह पटक पटक उक्त क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गरिरहेका छन्। यसपटक आफ्नै श्रीमतीलाई समेत उम्मेदवार बनाएर आलोचना खेपिरहेका शाहलाई नयाँ अनुहारले चुनौती खडा गरिदिएका छन्। उता घिमिरेलाई एमालेका नेता खिमलाल भट्टराईले चुनाबी कमान्ड सम्हाली जिताउने गरी खटिएका छन्।

क्षेत्र नं। ५ (१) मा प्रदेशसभाका लागि १३ जनाको उम्मेदवारी छ। जसमध्ये नेकपा माओवादी केन्द्रका बिनोद पहाडी, नेकपा एमालेका भूमिश्वर ढकालबीच प्रतिष्पर्धा रहेको छ। यहाँ ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। पहाडी संविधानसभाका सदस्य तथा पत्रकारिता क्षेत्रका अगुवा हुन्। ढकाल एमालेका प्रदेश सचिव एवं आगामी दिनमा एमालेबाट मुख्यमन्त्रीका दाबेदार समेत हुन्।

प्रदेशसभा ४ (२) मा १४ जनाको उम्मेदवारी छ। जसमध्ये नेपाली कांग्रेसका फकुरूद्धिन खान, नेकपा एमालेका रामचन्द्र यादव, जनमत पाटिका सिके गुप्ता मुख्य प्रतिस्पर्धामा छन्। यहाँ ७ जना स्वतन्त्र उम्मेदवार छन्।

  • श्रोत :आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?