कसैले टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता छैन : ओली

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताउनु भएको छ ।

भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र ? भनि प्रश्न समेत गर्नु भयो ।

शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिनु भयो ।

ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरी टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।

उहाँले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिनु भयो । आवश्यक्ता भन्दा बढि अवसर पाएकाहरु फेरी पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाई राख्नु भयो । अध्यक्ष ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । अनि काशिनाथ अधिकारी जस्तो अरुले त हिजो अस्तीसम्म भन्नुस्न असोज ३ गतेसम्म । असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाईरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ? अरुलाई पनि त पालो गर्नु पर्छ नि त । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभईकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिदैन भन्ने स्थिति त होइन । यस्ता कुराहरुको पछि नलाग्न पनि म हाम्रो साथीहरुलाई आग्रह गर्न चाहन्छु । कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यक्ता छैन । म के भन्न चाहन्छु भने- नेकपा एमालेमा न्याय हुन्छ । तर न्याय खुदै न्याय भनेको फेरी यस्तो चिज हो नि न्याय अनि सापेक्षा पनि हुन्छ । निरपेक्ष पनि हुँदैन । वास्तवमा भन्ने हो भने काशीनाथजीले न्याय पाउनु भएको छैन । मैले खाली मैले एउटा दृष्टान्त मात्रै भनेको हो । धेरैले न्याय पाएको छैन । अनि, कतिपय मान्छेहरुले पर्याप्त अवसरहरु पाएका छन । आवश्यक्ता भन्दा बढि अवसर पाएका छन । र, फेरी अवसरकै पछि कुँदेका छन । काममा पछि होइन । योगदान गर्नुपर्छ भन्ने भावना होइन । मैले पाउनुपर्छ, मैले के पाए ? यो मात्रै हिसाव छ । अरुले पाएनन् । अरु पनि खटेका छन यतापट्टी होइन । नेकपा एमालेको भावना त्यस्तो छैन् हुनु हुँदैन । म साथीहरुलाई आग्रह गर्न चाहन्छु । हामी समृद्ध नेपाल बनाउने संकल्पमा छौं । पालो त आईहाल्छ । अर्को कुरा हामी निर्वाचन जित्नु पनि परेको छ । निर्वाचन जित्ने, सरकार ठिक ढंगले चलाउने, संसद ठिक ढंगले चलाउने र पार्टी भित्र कुनै पनि प्रकारको गुटबन्दी हुन नदिने । अव गुटबन्दी नेकपा एमाले भित्र छैन । हुँदैन, हुन दिईदैन । कोही काखा, कोही पाखा हुँदैन । कोही नजिक, कोही टाढा हुँदैन । कोही अवसरै अवसरले थिचिने कोही अवसरको नजिक पनि पुग्ने नपाउने यस्तो खालको असमान र विभेदकारी व्यवहार पनि अव हुँदैन । एउटाले पाएपछि पाएको छ, पाएको छ । अर्कोले नपाएपछि नपाएको छ, नपाएको छ । यस्तो पनि हुँदैन । सकेसम्म सबैलाई यथोचित ढंगले योग्यता, क्षमता र योगदान सबै चिजको इतिहास को कदर गरेर जिम्मेवारी दिने परिपार्टी, मूल्यांकनको आधारमा जिम्मेवारी दिने परिपार्टी बसालिनेछ । विगतमा कमीकमजोरी भएभने सच्याएर अघि बढन सकिन्छ ।’

अध्यक्ष ओलीले मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गर्नु भयो ।

उहाँले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहो-याउँदै त्यस लक्ष्य प्राप्तीका लागि आगामी मंसीर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘अव परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं । त्यसकारण म सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुलाई यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्रै होइन । यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने भन्ने कुराको टुंगो लाग्ने निर्वाचन यस्तो फैसला गर्नुपर्नेछ , यस निर्वाचनबाट । म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु–यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्ने गरीको निर्वाचनको रुपमा यसलाई अगाडि बढाउन म सबैलाई योगदान गर्न आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भिर गल्ती विगतमा गरेपनि अव न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?