आप्रवासी र साइबर ब्युरोका लागि कोरियाद्वारा दुई अर्ब सहयोग

Read Time = 5 mins

काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्युरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौता भएको छ । सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार, अर्थ मन्त्रालय र नेपालस्थित दक्षिण कोरियाली दूतावासबीच हस्ताक्षर भएको हो । गणतन्त्र कोरियातर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारको स्थिर पुनः एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धिसहितको साइबर ब्युरोको स्थापना गर्ने दुई आयोजना कार्यान्वयनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रत्येक आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले दुई आयोजनामा दक्षिण कोरियाले नेपाललाई कुल एक करोड ६० लाख अमेरिकी डलर अर्थात् करिब दुई अर्ब अनुदान सहायता उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ । सम्झौतापत्रमा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालस्थित गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गर्नुभएको थियो । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायसँगको सहकार्य र समन्वयमा आयोजना कार्यान्वयन गर्नेछ । अर्थ मन्त्रालयका अनुसार कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पु¥याउने र कोरियाबाट फर्केका आप्रवासीको स्थिर पुनः एकीकरण र उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य लिएको छ । आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेडमार्फत् आर्थिक सहयोगमा पहुँच बढाउन एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ ।

दक्षिण कोरियाबाट फर्किएका आप्रवासीको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्युरो सुदृढीकरणका लागि दक्षिण कोरियाले नेपाललाई करिब दुई अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

त्यस्तै, साइबर ब्युरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराधविरुद्धको क्षमता सुदृढ गर्नु रहेको छ । जसमा साइबर ब्युरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि हुनेछ । सो अवसरमा अर्थसचिव कृष्णहरि पुष्करले साइबर अपराधका बढ्दो घटना नियन्त्रण गर्न साइबर ब्युरोलाई सक्षम र सुसज्जित बनाउनुका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारलाई आफ्नो समाजमा स्थापित गर्न तथा नेपालमा रोजगारी बढाउन दुई परियोजना महत्वपूर्ण रहेको बताउनुभयो ।

राजदूत पार्कले विश्वभर र नेपालमा पनि व्यापकरूपमा बढ्दो साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न साइबर अपराध नियन्त्रण आयोजना महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरियाबाट फर्किएका आप्रवासीसम्बन्धी आयोजनामार्फत् ठूलो संख्यामा कोरियाबाट फर्केकाले आफ्नो सीप उपयोग गरी उद्यम स्थापनामार्फत् रोजगारी सिर्जना गरी देशको आर्थिक वृद्धिमा योगदान पु¥याउन सक्ने बताउनुभयो । नेपाली कामदारका लागि आकर्षक गन्तव्यका रूपमा रहेको दक्षिण कोरियामा ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेका छन् । उनीहरूले पुँजीसहित नेपालमा सीप र प्रविधिसमेत भिœयाउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?