पाँचथरका अधिकांश पालिकामा बन्यो सुविधा सम्पन्न प्रशासकीय भवन

हिमालय टाइम्स
Read Time = 3 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका अधिकांश पालिकाहरूले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । भाडामा तथा गाविस भवनमा बस्दै आएका पालिकाहरूले अहिले आफ्नै भवन निर्माण गरेका हुन् ।

आठवटा पालिका रहेको पाँचथरमा अहिले ६ वटा पालिकाले प्रशासकीय भवन निर्माणको काम सकेका छन् भने दुईवटा पालिकाले भवन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

फिदिम नगरपालिका तथा मिक्लाजुङ गाउँपालिकाले भवन निर्माणको काम सकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । यद्यपि, मिक्लाजुङ गाउँपालिका भवनको उद्घाटन भने आगामी मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि गर्ने तयारी छ ।

यस्तै, तुम्बेवा गाउँपालिका भवनको फिनिसिङ गर्न बाँकी रहेको र अब चाँडै फिनिसिङको काम सकेर निर्वाचनपछि सर्ने तयारी रहेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले बताउनुभयो ।

हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाको भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको पालिकाहरूले बताएका छन् । यस्तै, कुम्मायक गाउँपालिकाले भने भवन निर्माण प्रक्रियाको तयारी अघि बढाएको छ ।

त्यसैगरी फाल्गुनन्द गाउँपालिकामा भने पालिकाका केन्द्रको विवादलाई लिएर भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । आफ्नै प्रशासकीय भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन पालिकाहरूलाई समस्या परेको थियो ।

कतिपय जिल्लाका पालिकाका सबै वडाहरूमा भवन निर्माण भइसकेका छन् । याङवरक गाउँपालिकाका ६ वटै वडाको आफ्नै भवन निर्माण कार्य सकिसकेको छ । यस्तै, जिल्लामा ६० वटा वडा रहेको अधिकांश पालिकाका वडाहरूले पनि भवन निर्माण सम्पन्न गरिसकेका छन् भने कतिपय वडाहरूले भवन निर्माणको काम अघि बढाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?