-रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका-७,खानीगाउँकी अप्सरा सारु उमेरले ८८ लाग्नुुभयो । उहाँलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै सकस हुन्छ। घरबाट गाउँपालिकाको कार्यालय चिर्तुङ्गधारा पुग्नै घण्टौ लाग्छ । वर्षौदेखि वृद्ध भत्ता बुझ्न गाउँपालिका नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती हुन्छ । तर अहिले यी समस्याबाट उहाँ जस्ता हजारौं लक्षित व्यक्तिले छुटकारा पाएका छन् । गाउँपालिकाले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सास्ती कम भएको छ। ‘बुढेसकालमा धेरै सहज भयो, दुई खुड्किलो टेक्दा वडा कार्यालय पुगिन्छ, त्यहींबाट भत्ता पाउन थालेको छु’ सारुले भन्नुुभयो, ’टाढा हुँदा न बैंकबारे केहि बुझिन्थ्यो न भत्ता लिन जानै सजिलो थियो, सबै सास्ती कम भयो ।’
यस्तै बगनासकाली यम्घाका मनिष खनाल अपाङ्ग हुनुुहून्छ । उहाँको शारीरिक दुर्बलताले उहाँले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैं कष्ट हुन्थ्यो । वरपरका छिमेकीको सहयोगमा बोकेरै उहाँलाई लैजानुपथ्यो । तर वडाबाटै भत्ता वितरण सुरु भएपछि अहिले राहत मिलेको छ । ‘ भाइ अपाङ्ग छ ,त्यसमा उसले पाउने सरकारी सेवा पनि लिनै मुस्किल, तर अहिले वडाबाटै बाँड्न थालेपछि गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता कम भएको छ’, दाई मनोज खनालले भन्नुुभयो । गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दुर्गम ग्रामीण भेगका नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले वडाबाटै भत्ता वितरण गरिएको हो ।
भौगोलिक विकटताका कारण बैंकिङ सेवा र गाउँपालिका केन्द्रसम्म कष्टकर यात्रा गरी धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुुभयो । ‘शारीरीक रूपमा अशक्त वर्गको सुलभताका लागि वडाबाटै बाँड्न थालिएको हो, जसमा जेष्ठ नागरिक र अपांग व्यक्तिहरूलाई घर पायक वा दूरीको हिसाबले नजिकका वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ । ’विभिन्न वडाबाट सदरमुकाम तथा आर्यभज्याङ् बजारमा रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभइ लामो समय हिँडनु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको अध्यक्ष चिदीले बताउनुभयो ।
उहाँले निर्वाचनका बेला जनाएको प्रतिबद्धत्ता समेत पूरा गरेको बताउनुुभयो ।‘विगतमा तत्कालीन गाविसले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तामा दुरुपयोग भयो भनेर सरकारले बैंकमा खाता खोलेर जम्मा गर्ने व्यवस्था मिलाएको थियो । सरकारले भत्ता दुरुपयोग हुनबाट बचाउन र सम्बन्धित व्यक्तिले नै भत्ता रकम पाओस् भनेर बैंकमा खाता खोल्ने काम राम्रो गर्यो तर बैंकमा खाता खोल्दा अशक्त, जेष्ठ नागरिक,अपाङ्गले सास्ती भोग्नु परेको थियो । वडावडामा बैंक नहुँदा जेष्ठ नागरिक, अशक्त,अपाङ्ग, एकल महिला दुई/अढाई घन्टा लगाएर आउनु पर्ने त्यसमा पनि भीडभाडका कारण लामो समय कुर्नु पर्ने बाध्यताले विभिन्न किसिमका कष्ट भोग्नु परेको थियो । आउदा दिनमा अशक्त,जेष्ठ नागरिक, अपाङ्गले समस्या भोग्नु पर्ने छैन,’ उहाँले भन्नुुभयो । आगामी दिनमा परिस्थितीलाई हेरेर गाउँपालिकाका केही सरकारी सेवा पनि स्थानीय पायक ठाउँमै दिने योजना रहेको उहाँले बताउनुभयो ।
यसअघि नेपाल बैंक पाल्पा शाखा र विभिन्न काउन्टरबाट भत्ता पाइरहेका वडाका नागरिकले अहिले वडाबाटै सेवा पाएका हुन् । नेपाल बैंक पाल्पा शाखाको समन्वय र गाउँपालिकाको सहकार्यमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरेहको छ । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, नेपाल बैंक पाल्पा शाखा प्रबन्धक गिरिराज बेल्वासे लगायत जनप्रतिनिधी र कर्मचारीको उपस्थितिमा वडा कार्यालयमै पुगरे सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ । आ.व.२०७९/०८० को प्रथम त्रैमासिक (श्रावण, भाद्र र असोज)मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ३०८७ लाभग्राही मध्ये दस्तखत गर्ने, जिल्ला बाहिर हुने र बैंकमै सहज हुनेहरूको लागि बैंकमै सामाजिक सुरक्षा भत्ता जम्मा गरेको गाउँपालिकाका एम.आई.एस. अपरेटर भोजराज भट्टराईले बताउनुभयो । यहाँका ९ वटा वडाबाटै भत्ता वितरण भएको छ ।
प्रमुख प्रशासकीय अधित विष्णु घर्तीले नागरिकको वडास्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा लाभग्राहीले छिटो र छरितोगरी सेवा लिन पाएको बताउनुभयो । वडाबाटै सहज सेवा पाउनाले समय, खर्च, कष्टकर यात्राबाट छुटकारा मिलेको सेवाग्राही बविता विष्टले बताउनुुभयो । उहाँले भन्नुुभयो ’गाउँपालिकाले वडाबाट दिएको सेवालेअहिले धेरै सजिलो छ, घण्टौं लगाएर जानुपर्ने बाध्यता कम भएको छ, खर्च पनि जोगिएको छ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच