पिएम कप क्रिकेट : एपिएफ १० विकेटले विजयी

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराएको छ । मंगलबार भएको समूह ‘ए’ को खेलमा सुदूरपश्चिमलाई हराउँदै एपिएफले लगातार दोस्रो जित हात पारेको हो ।

जितका लागि ६८ रनको सामान्य लक्ष्य पाएको एपिएफले कुनै विकेट नगुमाई ११.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । एपिएफका लागि आसिफ शेख ३२ बलमा सात चौका र एक छक्कासहित ४२ तथा प्रदीप ऐरीले ३६ बलमा एक चौका र दुई छक्कासहित २५ रन बनाउनुभयो ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम २७ ओभरमा सबै विकेट गुमाएर ६७ रनमा अलआउट भयो । सुदूरका कप्तान राजु रिजालले ६८ बलमा दुई चौकासहित २४ बाहेक अन्यले दोहोरो अंक जोड्न सक्नुभएन ।

एपिएफका भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ तथा कमलसिंह ऐरी र मौसम ढकालले दुई दुई विकेट लिनुभयो ।
एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराएको थियो । सुदूरपश्चिम गण्डकीसँग ६९ रनले पराजित भएको थियो । समूह ‘ए’ मा एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

यस्तै, मंगलबार नै भएको अर्को खेलमा प्रदेश १ ले बागमती प्रदेशमाथि ६९ रनको फराकिलो जित हात पारेको छ । प्रदेश १ ले दिएको ३ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले ४५.५ बलमा सबै विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

बागमतीका लागि नन्दन यादवले ४३ रन बनाउनुभयो । इशान पाण्डेले ३५ तथा कप्तान ज्ञानेन्द्र मल्लले २७, रामनरेश गिरीले अविजित २८ तथा दुर्गेश थापाले २६ रन बनाउनुभयो । प्रदेश १ का सर्वन यादवले ३ तथा फिर्दोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले २÷२ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ४ रन बनायो । प्रदेश १ का लागि अंकित सुवेदीले ११० रनको शतकीय इनिङ खेल्नुभयो । उहाँले १३४ बलमा १२ चौका र एक छक्का प्रहार गर्नुभयो ।

यस्तै, कप्तान सिद्धान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । विवेक आनन्द मेहेताले ३० रन जोड्दा सोनु अन्सारीले १९ रन बनाउनुभयो । सर्वन यादवले ११ रन जोड्दा निरज मुखिया १० रनमा आउट हुनुभयो ।

बागमतीका रामनरेश गिरीले पाँच तथा नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले एक-एक विकेट लिनुभयो । यस जितसँगै समूह ‘बी’ मा प्रदेश १ ले दुई खेलमा दुई अंक जोडेको छ ।

प्रदेश १ दोस्रो स्थानमा रहेको छ । बागमती प्रदेशको यो लगातार दोस्रो हार हो । अंकविहीन बागमती पुछारमा रहेको छ ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ रहेका छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०–५० हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिताको उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?