मुक्तिनाथ क्षेत्रको पर्यटन प्रवद्र्धनमा एनआरएनए, मन्दिर परिसरमा ३५ फिट अग्लो बुद्धमूर्ति र रिसोर्ट

Read Time = 7 mins

काठमाडौं । मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदैछन् । पछिल्लोपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व-उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान् विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै, मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ । तयार भएको बुद्धमूर्ति र रिसोर्ट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्घाटन गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिनुभयो । नयाँ बन्ने विष्णु भगवान्को मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन नै गर्ने कार्यक्रम तय भएको छ । मुक्तिनाथ भगवान् विष्णुको जन्मस्थान रहेको भनाइ छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार करिब आठ सय वर्षपहिले यहाँ साधुहरूले मन्दिर स्थापना गरेका थिए । हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बा पनि छन् । परम्परागत धार्मिक संरचनाको संरक्षण र संवद्र्धन गर्ने गरी मुक्तिनाथ विकास गुरुयोजना छ । सोही गुरुयोजनाको महत्वपूर्ण संरचना बुद्धमूर्तिको स्थापना र विष्णु भगवान्को मूर्ति शिलान्यासमा आफू संलग्न हुँन पाउँदा खुसी लागेको सोनामले बताउनुभयो ।

सोनामका अनुसार मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरुयोजनाको एक अंशका रूपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो । पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा स्थापना गरिएको हो । मूर्र्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताउनुभयो । पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् । उहाँले भन्नुभयो, ‘पाहुनालाई बुद्धमूर्ति आराधनाका लागिमात्र होइन, ध्यान योग दृश्यावलोकनको स्वर्गीय आनन्द अनुभूत गर्ने गरी यो संरचना तयार गरेका हौँ ।’

सन् २०१३ देखि उक्त परियोजना सुरु गर्नुभएका सोनामले आफ्नी श्रीमती र छोराछोरीसमेतको करिब छ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको बताउनुभयो । मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवामा यी संरचना बनेका छन् । समुद्र सतहबाट करिब तीन हजार सात सय मिटरको उचाइमा बनेका संरचना आसपासबाट तीन सय ६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

गुरुयोजनाअनुरूप भगवान् विष्णुको पनि ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । मूर्ति स्थापनाका लागि एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले पनि ५० लाख रुपैयाँ सहयोग प्रदान गर्नुहुनेछ । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिब नौ करोड रुपैयाँ लाग्ने सोनामको अनुमान छ । विष्णुको मूर्ति पनि पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी त्यहाँ पुर्‍याइनेछ । सामाजिक सेवाका दुई परियोजनाबाहेक मुक्तिनाथ क्षेत्रको विकासका लागि सोनामले धार्मिक तथा अन्य पर्यटकसमेतलाई लक्षित गरी सुविधासम्पन्न ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ पनि निर्माण गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ तर स्तरीय होटेल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो ।’

बुटिक अवधारणामा बनेको होटल करिब एक सय रोपनीमा फैलिएको छ । चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटेल क्षेत्रमै करिब पाँच सय बोट स्याउ फार्म पनि छ । निलगिरि, धौलागिरिजस्ता मनमोहक हिमालको घेराभित्र रहे जस्तै देखिने होटेलमा पर्यटकको सेवाका लागि साउना स्पादेखि घोडा चढी सुविधा उपलब्ध हुने सोनामको भनाइ छ ।

मुक्तिनाथ नजिकैको गाउँ थुराङमा जन्मिनुभएका सोनामले आफ्नै मातृभूमिको विकासका लागि पूर्वाधार थप्न लागिपरेको बताउनुभयो । स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको र निश्चित अवधिपछि रिसोर्ट समुदायलाई नै हस्तान्तरण गरिने पनि उहाँले बताउनुभयो । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसायमा संलग्न सोनाम काठमाडौंको ठमेलमा सय बेडको होटेल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने तयारीमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?