पोलका तार ४५ दिनभित्र हटाउन प्राधिकरणको उर्दी

Read Time = 6 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् पोलमा तानिएका तार हटाउन इन्टरनेट सेवा प्रदायकहरूलाई अल्टिमेटम दिएको छ । विद्युत्का पोलमा तानिएका तार ४५ दिनभित्रमा व्यवस्थापन गर्न विद्युत् प्राधिकरणले अल्टिमेटम दिएको हो । अन्यथा प्राधिकरण आफैं हटाउन बाध्य हुने पनि स्पष्ट पारेको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गर्न सेवा प्रदायकलाई ४५ दिनको समयसीमा दिएको हो ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत् दूरसञ्चार, केबल टिभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई भनेको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्ड्याइएका उपकरणका कारण शहरलाई कुरूप बनाएको छ । आगलागीलगायतका विद्युतीय दुर्घटना बढ्दै गएको र प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको प्राधिकरणले जनाएको छ । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र शहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न समयसीमासहित सार्वजनिकरूपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तोकिएको समयमा व्यवस्थापन नगर्ने/नगराउने सेवा प्रदायकको केबललगायतका उपकरण नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुन सक्ने नोक्सानीका लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवार हुनुपर्नेछ । अव्यवस्थित तारको गुजुल्टोका कारण शहर कुरूप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रवाह प्रभावित भएको छ, शहरी सौन्दर्यता कायम गर्न, विद्युतीय दुर्घटना न्यूनीकरण गर्न हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो ।’

प्राधिकरणले केबल टिभी, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गर्न सेवा प्रदायकलाई ४५ दिनको समयसीमा दिएको हो ।

प्राधिकरणले अप्टिकल फाइबर/केबल र विद्युत् लाइन तथा भू-सतहबीचको न्यूनतम दूरी तोकेको छ । चार सय भोल्टको नांगो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमशः ८० र ३० सेन्टिमिटर हुनुपर्नेछ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी दुई मिटर हुनुपर्नेछ । अन्य चार सय भोल्टका उपकरणसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्नेछ । अप्टिकल फाइबर/केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत् ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरण पोलको एउटैमात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्नेछ । प्रयोगमा नरहेका तार र अन्य उपकरण तत्काल हटाउनुपर्नेछ । पोलमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तार तान्दासमेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकले आफ्नो तार सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्नेछ भने पोलमा जडित उपकरणमा समेत मार्किङ गर्नुपर्नेछ ।

सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्नेछ । तार सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केबल हटाउनुपर्नेछ । तोकिएका मापदण्ड तार तथा उपकरण सेवा प्रदायकले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणलाई जानकारी गराउनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?