उम्मेदवारसँग किसानको माग : हामीलाई समयमा मल दिनुस्

हिमालय टाइम्स
Read Time = 3 mins

विवेक खड्का/हिटा
दाङ । दाङका मतदाताहरूले गठबन्धनका उम्मेद्वारसँग ठूला योजना नभएर आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । ‘हामीले धेरै वर्ष भयो समयमा रासायनिक मल नपाएको, समयमा मल दिनुस्,’ स्थानीय गोपाल सुवेदीले भन्नुभयो, ‘हामीलाई गर्मीयाममा खानेपानीको पनि निकै समस्या पर्ने गरेको छ, त्यसको व्यवस्था गरिदिनुस् ।’

अर्का स्थानीय अमरबहादुर डाँगीले गाउँमा मिलहरू भए पनि ट्रन्समिटर नहुँदा सञ्चालन गर्न गाह्रो भएको दुखेसो गर्नुभयो । प्रदेशसभा दाङ २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ जनतालाई विकास र समृद्धिको आवश्यक भएको बताउनुभयो । उहाँले गठबन्धनको लक्ष्य नै मुलुकको समृद्धि भएकाले जनताले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिसभा सदस्य दाङ २ का उम्मेदवार एवं पूर्वमन्त्री रेखा शर्माले उज्यालो नेपाल अभियान आफूहरूको नेतृत्वमा भएको बताउनुभयो । उहाँले दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक कलेज, खोलाहरूमा पक्की पुल, सडक जस्ता पूर्वाधार काम आफूहरूले ल्याएको जानकारी दिनुभयो । ‘दाङको समग्र विकासका लागि हामीले दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ,’ शर्माले भन्नुभयो, ‘मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्छ ।’ कृषि उत्पादन बढाउन किसानलाई मल, विउ र कृषि उपज अनुदानमा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारहरूले जिते मात्र विकास र समृद्धि सम्भव भएकाले आफूहरूले विजय गराउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । जनमैत्री टोलकी उपाध्यक्ष मनिराम वलीले सडकको अवस्था नाजुक भएको, पुलदेखि बस्तीसम्म आउने बाटो ग्राभेल गर्नुपर्ने, नाला नहुँदा समस्या भएको, बिजुलीका तारको उचित व्यवस्थापन गर्न आवश्यक भएको बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?